संविधान दिवसको अवसरमा पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि,क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । गाउँपालिका सभाहलमा सुरु भएको कार्याशालाको बिहिबार औपचारीक कार्यक्रम सहित गाउँपालिका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षकहरुको उर्जा,उत्सुकता,गतिशीलताले कार्यक्रम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । उहाँले संविधानको सार्वभौमसत्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै यो संविधान पनि पुर्ण नरहेको टिप्पणी भइरहेको उल्लेख गर्दै बनेको संविधानको पुर्ण रुपमा अक्षरंश लागु गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धि गर्दै यहाँको समृद्धिमा टेवा पुर्याउन शिक्षकहरुको भुमिका महत्त्वपूर्ण हुने जिकिर गर्नुभयो । सामुदायिक विद्यालयका शिक्षकहरु असाधारण क्षमताको हुने भन्दै अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धिका लागी अहोरात्र खट्ने शिक्षक हरुको प्रशंसा गर्दै शिक्षामा जिल्लामै उत्कृष्ट बनाउने गरी लाग्न आह्वान गर्नुभयो ।
अध्यक्ष लामाले सरकारले गरेको काम बारे चित्त बुझ्दैन भनेपनि सामाजिक संजालमा नलेख्न शिक्षकहरुलाई निर्देशन दिनुभयो । उहाँले नारायण गोपालको “मुटुमाथी ढुंगा राखि हास्नुपर्या छ” भने गितको स्मरण गर्दै चित्त नबुझेपनि राष्ट्र सेवक कर्मचारीले सरकारको विरुद्ध सामाजिक संजालमा लेख्न र विरोध गर्न नपाइने विषयको बारेमा स्मरण गराउनुभयो ।
उहाँले शिक्षक हरुले स्थानीय तह मातहत शिक्षकहरु हुन नहुने भनेर गरेको आन्दोलनको स्मरण गर्दै संविधानले स्थानीय तहलाई अधिकार दिएकोले संविधान मान्दिन भन्न नपाइने बताउनुभयो । उपाध्यक्ष सुनिता अधिकारीले शिक्षालाई नमुना ढंगले अगाडी बढाउने उदेश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले सिकेका कुरालाई शिक्षण सिकाइमा लागु गर्दै विद्यार्थीका नतिजा सुधार गर्दै उत्कृष्ट बनाउन यस्ता कार्यशालाले सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
हेल्पका अध्यक्ष जिमि लामाले पाँचपोखरी थाङपाल गाउँपालिकाको शैक्षिक क्षेत्रमा विगत देखीनै सहयोग गरेको स्मरण गर्दै यो महत्त्वपूर्ण कार्यक्रमको सहजीकरण गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सिक्न पाउने र सिकाउन पाउने यस्तो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो । सहभागी शिक्षकहरुलाई तालिममा सक्रिय ढंगले सहभागीता जनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले स्वागत मन्तव्य राख्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने गाउँपालिकाले विश्वास लिएको छ । सिङ्गो पालिकाको शैक्षिक गुणस्तर वृद्धिको अभियानमा गाउँपालिका लागेको जनाउँदै त्यसमा शिक्षक,अविभावक,विद्यालय ब्यबस्थापन समितिको भूमिका महत्वपुर्ण हुने गाउँपालिकाले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र हेल्पको सह आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका २४ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।
सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष काले गोलेको अधयक्षतामा भएको कार्यक्रमको औपचारीक सत्रको समापन समारोहमा बोल्दै अध्यक्ष गोलेले तालिममा ध्यान दिएर सहभागी हुन र सिकेका कुरा विद्यालयमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थी संग र सहभागी नभएका शिक्षकहरु लाई समेत सिकाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख कमला खनालले गाउँपालिकाको हाल सम्मको शैक्षिक गतिविधि र आगामी योजनाका बारेमा जानकारी गराउनुभयो । २ दिन चल्ने कार्यशालाको सार्वजनिक शिक्षा र हाम्रो भूमिका,समावेशी शिक्षा र समावेशी विद्यालयका बारेमा विमलकुमार फुयाँल,बालबालिकाहरु कसरी सिक्न चाहान्छन भन्ने विषयमा सुष्मा दाहाल,सामुदायिक विद्यालयका उत्कृष्ट अभ्यासका बारेमा अभिशेक घिमिरे र अहिलेको समय र विद्यालयका विषयमा सुर्दशन घिमिरेले लगायतका विषय विज्ञहरुले सहजिकरण गर्नुहुनेछ ।