विभिन्न ९ देशका प्रतिनिधिहरुले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा रहेको यस भेगकै अग्रणी सुर्यमूखी साना किसान कृषि सहकारी संस्थाको अवलोकन तथा निरिक्षण गरेको छ । नेपाल केन्द्रिय कृषि सहकारी संघ लिमिटेडको समन्वयमा स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रम गरिएको संस्थाका प्रबन्धक गोविन्द नेपालले जानकारी दिनुभयो । सहकारीले कसरी गाउँ समुदायमा कृषकहरुलाई सेवा दिईरहेको छ भन्ने बारेमा जानकारी आदान प्रदान गर्ने उद्धेश्यले भ्रमणमा आएको सहकारीले जनाएको छ ।
अनुगमन तथा अनुभव आदानप्रदानमा सुर्यमुखी साना किसान कृषि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारी बारे प्रस्तुतीकरण, सहकारीद्धारा प्रवर्धित डेरी उद्योग, किवी फार्म, कृषि तथा पशुपालन फार्म अवलोकन तथा अनुभव आदानप्रदान गरिएको जानकारी दिनुभयो । भ्रमणमा सहभागिहरुलेसहकारी संस्थाको सदस्य केन्द्रित र सामाजिक हित अनुकलका कार्यक्रमहरु राम्रो रहेको बताएका छन् । सहकारीबाट संञ्चालन गरिएको पशु स्वास्थ्य, पशुविमा, विपद्मा गरिएका राहत सहयोग जस्ता कार्यहरु अनुसरण योग्य रहेको भ्रमण टोलिका एक सदस्यले जानकारी दिनुभयो ।
सहकारी मार्फत हाल मुख्यरुपमा व्यावशायिक तर्फ वित्तिय कारोवार(बचत संकलन तथा शुलभ कर्जा प्रवाह), दुध खरिद तथा विक्रि,पशु स्वास्थ्य तथा पशुविमा कार्यक्रम संञ्चालन,एग्रोभेट पसल संञ्चालन, कृषि तथा पशुपालन फार्म संञ्चालन,सहुलियत दरमा रासायनिक मल तथा बीउ विजन वितरण लगायका काम गरिरहेको अध्यक्ष चौलागाईंले जानकारी गराउनुभयो ।
सहकारीले सामुदायिक विकासका क्षेत्रमा विपदहरु(कोरोना, लम्की स्कीन आदि)मा सहयोग,शेयर सदस्यको मृत्युहुँदा शोकमा रहेका परिवारहरुमा राहत, सुत्केरी महिलाहरुलाई पोषण भत्ता तथा सहुलियत ऋण, सुत्केरी पशुपहरुको लागि पोषण भत्ता,जेष्ठ नागरिक सम्मान तथा स्थानीय साँस्कृतिक पर्वहरुमा स्थानीय सरकारसंगको साझेदारीमा कार्यक्रमहरु संञ्चालन, उत्कृष्ठ विद्यार्थी प्रोत्साहन कार्यक्रम, जनसहभागीतामा आधारित विभिन्न सामाजिक कार्यहरुमा साझेदारी लगायतका काम गर्दै आएको अध्यक्ष चौलागाईंले दावि गर्नुभयो । भ्रमणमा काजकिस्तान,ताइवान,बंगलादेश,ताजकिस्तान,फिलिपिन्स,इण्डिया,कम्बोडिया,मंगोलिया र टिमोर लेस्टेका प्रतिनिधिहरु उपस्थित थिए । भ्रमणमा आएका हरुलाई सहकारीले स्वागत गरेको थियो ।