सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा निर्मित कृषि उपज संकलन केन्द्र उद्दघाटन तथा कृषि उपज ढुवानी गाडी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिकाका अध्यक्ष टासी लामा र कोइका नेपालका देशीय निर्देशक मोइङ कोइंगले संयुक्त रुपमा तरकारी संकलन केन्द्र भवनको उद्घाटन गर्दै देशीय निर्देशक कोइंगले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी साधनको साँचो हस्तान्तरण गर्नुभयो ।
गाउँपालिकाको किसानलाई आय आर्जन सँग जोड्ने नीतिलाई सार्थक पार्नका लागी कोइका नेपालले गरेको योगदानको गाउँपालिका अध्यक्ष टासी लामाले खुशि ब्यक्त गर्नुभयो । गाउँपालिकाको विकासको लागी कोइका नेपाल ERCN परियोजनाले गरेको सहयोगको लागी आभार प्रकट गर्दै अध्यक्ष लामाले संचालनको जिम्मेवारी संगै संरक्षण कसरी गर्ने,दिगो कसरी बनाउने र कसरी संचालन गर्ने भन्ने बिषयमा गाउँपालिकाको साथ र सहयोग सधैं भरी रहने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाले लिएको कृषि नीति अन्तर्गत किसान सँग जोडिने,उपलब्ध जग्गा तथा भूगोलको उच्चतम प्रयोग गरी अर्गानिक तरकारी र खाद्यान्न उत्पादन गरी किसानलाई आय आर्जन सँग जोड्नका लागी अब यस संकलन केन्द्र र गाडीको भूमिका महत्वपुणर् हुने उहाँले दावि गर्नुभयो ।
अब किसानले उत्पादन गरेका कृषि बस्तु,तरकारी,खाद्यान्न लगायत सामग्रीको बजार ब्यबस्थापनमा सहज हुने अध्यक्ष लामाले विश्वास ब्यक्त गर्नुभयो । देशीय निर्देशक मोइङ कोइंगले यस परियोजना बाट यहाँको स्वास्थ्य, जिवीको पार्जन, आयआर्जनमा परिवर्तन ल्याएको छ भन्ने बिश्वास लिएको बताउनुभयो । उहाँले तरकारी संकलन केन्द्र स्थापना र पश्चात ठुलो संभावना र थुप्रै अवसर प्रदान गर्ने बताउनुभयो ।
सवारी साधनले आगामी दिनमा यहाँको किसान र बजार जोड्नमा महत्त्वपूणर् भुमिका निर्वाह गर्ने र थप उत्साह थपिने बिश्वास लिएको कोइंगले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी निकाय,गैह्र सरकारी निकाय,स्थानीय समुदाय सबै मिलेर काम गरेमा परिबर्तन संभव रहेको दावि गर्दै विगत ५० बर्ष देखीको नेपाल सरकारसँगको सम्बन्ध अझै प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिकाका रेनुका चौलागाईं र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा मगरलाई समेत आजै गाडीको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष द्धयले संस्थालाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरताका लागी आग्रह गर्नुभयो ।
कृषि उपज सामाग्रीहरु, तरकारी, फलफूल, पिठो, चामल, आलु, किवी, कुचो, लप्सी, अलैँची लगायत यस भेगमा उत्पादित सबै सामग्रीको उचित मूल्यमा किसानसँग खरीद गरी मेलम्ची देखि काठमाडौं सम्म पाँचपोखरीको पहिचान सहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र संस्थालाई संकलन केन्द्र सञ्चालक समितिले आग्रह गरेको छ ।
किसान सँग जोडिने खालका कार्यक्रम, मौसमी तथा बेमौसमी तरकारी उत्पादन कार्यक्रम, उद्यम विकास अन्तर्गत विभिन्न खाले अचार बनाउने सीप विकास तालीम, उत्पादनको आधारमा अनुदान जस्ता कार्यक्रम मार्फत किसानलाई आय आर्जन सँग जोड्न सकिने हुँदा आगामी दिनमा यस्ता किसान लक्षित कार्यक्रम सञ्चालनका लागी स्थानियले माग गरेका छन् । अब संस्थाले उपलब्ध गराएको गाडीले किसानको घर घरमा गएर तरकारी तथा उत्पादित बस्तु संकलन गरि ल्याउने कोइकाका कार्यक्रम फिल्ड संयोजक कुमार भट्टराईले जानकारी दिनुभयो ।
संकलन केन्द्रमा संकलन भएका तरकारी तथा अन्य सामग्रीलाई पाँचपोखरी दर्शका लागी आउने पर्यटकहरुलाई फर्कने बेलामा कोसेली पठाउन सके उत्पादित तरकारी काठमाडौं लगायत अन्य शहरमा पुर्याउन सकिने गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।
यहाँको अर्गानिक उत्पादनलाई ब्रान्ड बनाउन सकेमा अन्यत्र बिक्रि गर्न सकिने आधारहरु रहेको लामाको भनाई थियो । संकलन केन्द्रका अध्यक्ष शेरबहादुर धितालले कृषिलाई गौरवको पेसा बनाउँदै गाउँमै रोजगार सृजना गराउन सके यहाँका युवाहरु बिदेशिनु पर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । कार्यक्रमको अवसरमा संकलन केन्द्र निमाणर्का लागी जग्गा दान गर्ने हरुलाई समेत सम्मान गरिएको थियो भने स्थानियले कृषि प्रर्दशनी गरेका थिए ।