ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको शर्माले बताए । उनका अनुसार, सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । ‘अस्पताल नै लानुपर्ने गरी चाहिँ तीन जना घाइते हुनुभएको छ’, शर्माले अनलाइनखबरसँग भने ।
शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए । तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले अनलाइनखबरसँग बताए ।
‘उनीहरू अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरू पनि लाग्यो’, उनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं । सीडीओ शर्माका अनुसार, अहिले स्थितिमा नियन्त्रणमा आइसकेको छ । यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन् ।