स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो । आम नागरिकका सबै प्रकारका समस्याहरूको पहिलो सम्बोधन गर्ने संयन्त्र पनि स्थानीय सरकार नै हो । स्थानीय तहको सुशासनको आधारभूत तत्वका रूपमा पारदर्शिता, सार्वजनिक उत्तरदायित्व, प्रभावकारिता, कानुनको शासन तथा भ्रष्टाचार नियन्त्रणलाई लिइन्छ ।
यसै सन्दर्भमा विविध मापदण्ड भित्र रहि संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा इन्द्रावती गाउँपालिकाले देशभरमै गाउँपालिकाहरु मध्ये दोस्रो र ७५३ स्थानीय तहहरु मध्ये समग्रमा ५ औं स्थान हाँसिल गर्न सफल भएको छ । यससंगै स्थानीय सरकार संचालनमा सुशासन, पारदर्शिता र उत्तरदायित्व संगै आगामि दिनमा सम्बृद्ध गाउँपालिका बनाउन बिकास निर्माण, नागरीकको अपेक्षा र अझै उत्कृष्ट हुने गरी काम गर्न गाउँपालिकालाई चुनौति थपिएको छ ।
यसै सन्दर्भमा हामिले इन्द्रावती गाउपालिकाका अध्यक्ष झम्क नेपाल संग गाउँपालिकाले गरीरहेको काम र आगामि योजना बारे कुराकानी गरेका छौँ ।
प्रश्न : इन्द्रावती गाउँपालिकाको जनताको घरदैलोमा पुग्दा नागरीकको इच्छा आकांक्षा कस्तो पाउनु भएको छ ?
जनताको प्रतिनिधी भइसकेपछि जनताको घरदैलोमा पुग्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हो । निर्वाचित भइसकेपछि अनेकन पटक जनताको घरदैलोमा पुगियो, जनताको आशा र अपेक्षाहरु यति धेरै बग्रेल्ती छन् तर जनताको आशा र अपेक्षा पुरा गर्नका लागि पालिका स्रोत र साधनको हिसाबले सम्पन्न हुनुपर्दछ । यो बेमेल भएको छ । जनताको आशा अपेक्षा एकातिर छ स्रोत र साधनको चाहिँ कमि छ । स्रोत र साधनको कमिका बावजुत पनि हिजो निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताहरु, निर्वाचित भइसकेपछाडी जनताको घरदैलोमा पुग्दा जनताले जनप्रतिनिधी प्रति राखेका आशा र अपेक्षाहरु पुरा गर्नका निमित्त मिहेनतका साथ लागेका छौँ । गाउँपालिकाको स्रोत र साधनले सम्भव नभएपनि हाम्रा अभिभावकीय सरकारहरु मुख्यगरी प्रदेश सरकार, संघीय सरकार संग समन्वय गरेका छौ । त्यतिले मात्रै नपुगेर तपाईले देख्नुभएकै छ हाम्रो इन्द्रावती गाउँपालिकामा स्रोत र साधन भित्राउनका निमित्त अनेकन दाता निकायहरु संग हामिले सल्लाह गरेका छौँ, छलफल गरेका छौँ र एउटा निणर्य र निष्कर्षमा पनि पुगेर झण्डै आधा दर्जन एनजिओ, आएनजिओ हरु संग गाउँपालिकाले संम्झौता गरेर जनताका आशा र अपेक्षाहरुलाई कसरी पुरा गर्न सकिन्छ भन्ने मान्यता र दृष्टिकोणको आधारमा दृढ इच्छाशक्तिका साथ अगाडी बढिरहेका छौँ ।
प्रश्न : जनताको आधारभुत आबश्यकताहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत भौतिक बिकास निर्माणको अबस्थाचाहिँ कस्तो छ ?
मुख्य गरी मैले भन्नुपर्दा डेटावेसमा काम गरीरहेको छु । पूर्वाधार बिकासको चर्चा गर्दा मुख्य गरी सडक नै हो । म जनप्रतिनिधी हुनुपूर्व जम्माजम्मी २ किलोमिटर सडक पिच थियो, आज त्यसलाई हामिले ३८ किलोमिटरमा पुर्याएका छौँ । जम्माजम्मी १० किलोमिटर ग्राभेल सडक थियो आज हामिले त्यसलाई १३२ किलोमिटर पुर्याएका छौँ । हाम्रो इन्द्रावती गाउँपालिका भित्र जम्मा ७५४ किलोमिटर सडक छ त्यसमध्ये यो दुइबर्षको बिचमा ३८ किलोमिटर सडक पिच गरेका छौँ, १३२ किलोमिटर सडक ग्राभेल गरेका छौँ र मलाई बिश्वास छ हामि जनप्रतिनिधीसंग जे आशा र अपेक्षा गरेका छन् चाहे पूर्वाधार बिकासको क्षेत्रमा होस, चाहे शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनको क्षेत्रमा किन नहोस जनताका आशा र अपेक्षालाई पुरा गर्नका निमित्त डेटावेसमा काम गरेका छौँ । मुख्य गरी शैक्षिक आन्दोलनबाटै अगाडी बढेको म एक व्यक्ति भएको कारण मेरो प्राथमिकताका धेरै क्षेत्र भएतापनि मुख्य गरी चारवटा क्षेत्रलाई हामिले उच्च प्राथमिकता दिएका छौँ । जसमा शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन ।
शिक्षा हामि निर्वाचित हुनुपूर्व जम्माजम्मी ४७ प्रतिशत सिकाई उपलब्धी मात्रै थियो, अहिले हामिले ६४ प्रतिशत पुर्याउन सफल भएका छौँ । स्वास्थ्यको कुरा गर्नुपर्दा एउटा हस्पिटल थियो, अहिले ५ शैयाको थप अर्को बोडगाउँ हस्पिटल समेत निर्माण गरी २ ठाउँमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा संचालनमा ल्याएका छौँ । अर्को महत्वपूणर् स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दाचाहिँ अशक्त, अपाङ्ग, जेष्ठ नागरीक स्वास्थ्य सेवा घरदैलो कार्यक्रम संचालन गरेका छौँ । जिल्लाका १२ वटा पालिका मध्ये इन्द्रावती गाउँपालिकाको यो कार्यक्रम उत्कृष्ट र प्रभावकारी छ भनेर जिल्ला स्वास्थ्य कार्यालयले उत्कृष्टताको प्रमाणपत्र समेत दिनुभएको छ । यस्तै कृषि र पशुपालनमा आश्रित गाउँपालिका भएको कारण गर्दा यसको आधुनिकीकरण र व्यवसायीकरण बिना जनताको आर्थिक जिवन स्तर माथि उठाउन सकिदैन भन्ने मान्यता र दृष्टिकोणको आधारमा हामि इन्द्रावती गाउँपालिकालाई दुग्ध व्यवसायको हबको रुपमा अगाडी बढाउने योजना बनाएका छौँ । दुधमा ४ रुपैँया अनुदान दिएका छौँ । यो दुइबर्षको बिचमा हामिले ५ वटा उत्पादन र प्रशोधन सहितका चिलिङ भ्याटको व्यवस्थापन गरेका छौँ । हामि निर्वाचित भएको आर्थिक बर्षमा जम्माजम्मी बार्षिक ६ लाख लिटर दुध उत्पादन भएको थियो अहिले यो दुइ बर्षको बिचमा १७ लाख लिटर दुध उत्पादन भइरहेको छ ।
प्रश्न : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा इन्द्रावती गाउँपालिका देशभरमै गाउँपालिकाहरु मध्ये दोस्रो र समग्रमा ५ औं स्थान हाँसिल गर्न सफल भएको छ यो कसरी सम्भव भयो ? पहिलो हुन अझै के कुराको अपुग भयो जस्तो लागेको छ ?
मुख्य गरी यो लिजामा हामि ४६० गाउँपालिकाहरु मध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका छौँ । ७५३ वटा नगर र गाउँपालिका मध्ये समग्रमा हामी ५ औँ स्थानमा आउन पनि सफल भएका छौँ । हामि यो लिजामा दोस्रो स्थानमा आउदै गर्दा कामका १० वटा क्षेत्रहरु छन् यो १० वटा क्षेत्रमा गरेको कामको आधारमा मुल्याङकन भएर नै हामिले यो परिणाम र सफलता प्राप्त गरेका हौँ । यो स्वमुल्याङकन हो, यो स्वमुल्याङकन भेरीफाई गर्ने तीन वटा निकायहरुबाट जाँच भएपश्चात हामिले यो सफलता प्राप्त गरेका छौँ । तर उत्कृष्ट काम गर्ने पालिकाहरुलाई यो सम्मान पत्र दिएर मात्रै हुदैन, थप काम गर्ने वातावरण बनाउन अनुदानको व्यवस्था पनि गर्न आबश्यक छ भनेर मैले सम्मान कार्यक्रममा पनि आफ्नो धारणा राखेको छु । सम्मानपत्रले काम गर्ने जोश जाँगर त थपिएला तर काम गर्नको लागि स्रोत साधन नै नहुँदा कसरी काम गर्ने ? प्रत्येक बर्ष आर्थिक मन्दीको नाममा पालिकाहरुको बजेट कटौती हुदैँ गइरहेको अबस्था छ यसकारण पनि राम्रो काम गर्ने पालिकाहरुलाई थप बजेट अनुदानको व्यवस्था गर्न पनि जरुरी छ । बास्तवमा हामि पहिलो हुनका निमित्त खासै ठुलो अंकको फरक पनि छैन जम्मा ०।२५ अंक मात्रै हो । कतिपय कुराहरु हामिपनि सिक्ने र सिकाउने क्रममा छौँ, गत आर्थिक बर्षमा हामिले केही नयाँ कुराहरु सिकेका छौँ यसकारण आगामि बर्ष चाहिँ हामि पहिलो कसरी हुने भन्ने एउटा योजनाका साथ हाम्रो सिङ्गो जनप्रतिनिधी, हाम्रा कर्मचारी साथीहरुका बिचमा हामिले सरसल्लाह र छलफल गरेका छौँ र त्यसै अनुरुप हामि अगाडी बढ्ने योजना बनाएका छौँ ।
प्रश्न : इन्द्रावती गाउँपालिकाको बिकास निर्माणका लागि प्रदेश र संघीय सासंदहरुको समन्वय र सहयोग कस्तो पाउनुभएको छ ?
समन्वय हामिले गरीरहेका छौँ । प्रदेश सरकार, संघीय सरकार संग गरीरहेका छौ अझ बिशेष गरी संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने माननिय सांसदहरु संग पनि हाम्रो सरसल्लाह, छलफल भइरहेको छ । एउटा कुरा दुःख का साथ भन्नुपर्दा चाहिँ मलाई के लाग्छ भने वास्तबमा इन्द्रावती गाउँपालिकामा प्रदेश सरकार, संघीय सरकारबाट हामिले बजेटनै प्राप्त नगरेको होइन, बास्तबमा हामिले जे प्राथमिकताक्रम तोकेर, हामिले सभाबाट निणर्य गरेका छौँ ती योजनाहरु चाहिँ कम पर्ने, सभाबाट भएका निणर्य बेगरका योजनाहरु चाहिँ पर्ने यो खालको एउटा दुखदायी, पीडादायी अवस्था पनि छ । यद्यपी यसका बावजुद पनि मलाई लाग्छ यो संघीय निर्वाचन क्षेत्रका माननीय सांसद, यो प्रदेश सभाका माननीय सांसद संग सघन ढंगको सरसल्लाह छलफल म आफुले पनि गरीरहेको छु । कहिलेकाहीँ उहाँहरुले पनि गरीराख्नुभएको छ । प्रदेश र संघीय सरकार हाम्रा अभिभावकीय सरकार हुन् । आगामि दिनमा यस्ता योजनाहरु छान्दा, रकम विनियोजित गर्दा पालिकाले गरेको संस्थागत निणर्यलाई उहाँहरुले आत्मसाथ गरीदिनुभयो भने चाहिँ कममा नयाँ उत्साह, उंमग नयाँ आट हिम्मत र साहस पैदा हुन्छ भन्ने बिश्वास छ ।
प्रश्न : आगामी दिनमा बिकास निर्माण, नागरीकको अपेक्षा पुरा गर्ने र सम्बृद्ध गाउँपालिका निर्माणका लागि के कस्ता उपाय र योजनाहरु बनाउन आबश्यक देख्नुभएको छ ?
योजनाहरु हामिले निती कार्यक्रममा तय गरेका छौँ, त्यसको अलावा शिक्षा,स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार बिकासका लगायतको लागि हामिले सोही अनुसारका निति बनाएका छौँ । फेरी पनि दोहोर्याए हामिले डेटावेसमा काम गरीरहेका छौँ । हामिले धेरै महत्वाकाक्षीँ योजनाहरुपनि बनाएका छैनौँ । हामिले बास्तविकतामा आधारीत कार्यक्रमहरु नै बनाएका छौ ।