काठमाडौं । आगामी असोज ५ गते ताप्लेजुङमा रेडपाण्डा ट्रेल म्याराथन हुने भएको छ ।
हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायको आर्थिक सहयोगमा म्याराथन आयोजना गर्न लागेको हो ।
मञ्चले सोमवार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगिताका लागि करिब २६ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूका अनुसार म्याराथन दौड फुङलिङ बजारदेखि ३ हजार ७९४ मीटरको उचाईमा पर्ने पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजारसम्म ४८ किलोमिटर लामो हुनेछ । पुरुष र महिला तर्फका धावकलाई एकै पटक एकै समयमा दौडाउने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ ।
यस म्याराथनमा सर्वोत्कृष्ट हुनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस बाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ताप्लेजुङ, पाँचथर र इलामका सहभागी मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
रेडपाण्डा दिवसको अवसरमा आयोजित म्याराथनले रेडपाण्डा संरक्षणको महत्वलाई प्रोत्साहन दिने र स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अपेक्षा आयोजकको छ । हरेक वर्ष असोज ५ गते अर्थात् सेक्टेम्बर २१ तारेखका दिन विश्व रेडपाण्डा दिवस मनाउने गरिन्छ ।