सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सुर्यमुखी सहकारी मेलम्ची नगरपालिकाको ब्राण्डको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकामा रहेको निष्क्रिय सहकारीको अनुगमन गर्दै पुनः संचालनका लागी नगरपालिकाले ताकेता गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख तामाङले किसानको लागी ५० प्रतिशत अनुदान दिने गरेको भन्दै स्वरोजगारका लागी यस्ता अनुदान महत्त्वपूर्ण बताउनुभयो । सहकारीलाई आवस्यक तालिम तथा विभिन्न सिपको विकासका लागी नगरपालिकाले सहयोग गरिरहेको प्रमुख तामाङले जिकिर गर्नुभयो । उहाँले सहकारी सम्बन्धि निति,ऐन,कानुन बनाउदा सहकारी अभियान्ता हरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंकका उपकार्यकारी निर्देशक डाक्टर रमेश चौलागाईंले अन्य सहकारीको तुलनामा सुर्यमुखीको काम राम्रो रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीले विशेषत बिषयगत क्षेत्रमा काम गरेको बताउनुभयो । उहाँले सहकारीको लागी आवश्यक परामर्श दिदै कृषि संग काम गर्ने सहकारी भएकाले स्वनियम अनुसार सहकारी संचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बचत तथा ऋणको काम गर्ने र बिषयगत रुपमा काम गर्ने सहकारी समेत संकटमा परेकाले अझै शेयर सदस्यहरुको लगानी डुब्ने खत्रा रहेको बताउनुभयो । मुलुकमा भएका सहकारीको,शेयर सदस्यको समेत एकिन संख्या नभएकाले सरकारले अध्यादेश ल्याएकाले थप सजिलो हुने बताउनुभयो । उहाँले जोखिममा परेका सहकारी समेत एकिन नभएकाले कति पुजी जोखिममा छन भन्ने प्रष्ट नभएको चौलागाईंले बताउनुभयो । उहाँले अहिलेको अध्यादेशमा भएका मुख्य मुख्यको कुराको जानकारी दिदै यस्को फाइदाका बारेमा चर्चा गर्नुभयो ।
उपकार्यकारी निर्देशक चौलागाईंले सहकारीको बारेमा विशेष चासो दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा सिन्धु भोटेचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमकान्त चौलागाईं निबर्तमान उपप्रमुख भगवती नेपाल,नानिराम चौलागाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले एक बर्षमा भएगरेका काम,आगामी योजना लगायतका बारेमा जानकारी गराउनुभयो । उहाँले सुत्केरी आमाहरूलाई घरभेट कार्यक्रम समेत आगामी दिनमा गर्ने योजना रहेको बताउनुभयो । सहकारीले संस्थामा शेयर सदस्यहरु तथा निजको परिवारहरुको आर्थिक जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले नेपाल कृषि सहकारी केन्द्रीय संघसँगको समन्वयमा विमा कम्पनीसंग सम्झौता गरि १८ देखी ५९ बर्ष उमेर समूहका सबै शेयर सदस्यहरुको १५ लाख सम्मको म्यादी वीमा कार्यक्रमलाई अभियानको रुपमा अघि वढाईने आगामी योजनामा उल्लेख गरेको छ ।
त्यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा ३ हजार ९५ जना रहेको शेयर सदस्य संख्या लाई आर्थिक बर्ष ०८१÷०८२ को अन्त्य सम्ममा ३२५० पुराईने, बालबचत, जेष्ठ नागरीक, खुत्रुके बचत जस्ता विभिन्न बचत योजनाहरुमा ४२४६ जना संस्था सदस्यहरु जोडिएकोले वचतकर्ता समेत वृद्धी गरि ४,४०० पुर्याईने लक्ष्य राखिएको छ । आगामी योजनमा सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि. को सानाकिसान मोडल अनुसार सबै शेयर सदस्यहरु समूहमा आवद्ध नभएको हुँदा बाँकी शेयर सदस्य हरुलाइ क्रमशः समूहमा आवद्ध गराउँदै लगिने, स्थानीय तहसंग साझेदारी गरी व्यवसायिक कृषकहरुलाई आवश्यक तालिम, बीउविजन, मलखाद र प्राविधिक सहयोग उपलव्ध गराईने,संस्थामा आवद्ध समुह सदस्यहरुलाई तरकारी उत्पादन र बजारीकरणमा उत्प्रेरित गर्न “उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम“ संञ्चालन गरिने, संस्थाले संञ्चालनमा ल्याएको कृषि तथा पशुपालन फार्ममा व्यवसायिक तरकारी तथा नर्सरी स्थापनाको लागि आवश्यक पूर्वाधारहरु निर्माण भैरहेकोले यस ठाउँमा कृषकहरुलाई सिक्नको लागि नमुना एग्रो फर्मको विकास गरिने रहेको सहकारीका अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।
संस्थामा आवद्ध शेयर सदस्यको मृत्यु भएमा निजका परिवारलाई शोकपत्र सहित नगदै रु. ३ हजार दिईदै आएकोमा अव उप्रान्त शोकपत्र सहित घरमै गई १० हजार राहत सहयोग दिने व्यवस्था मिलाईनेछ प्रतिवेदनमा उल्लेख छ । गत बर्ष ८९ लाख ५६ हजार खुद नाफा रहेको सहकारीको यस बर्ष १ करोड ३ लाख रहेको छ । सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रम सचीव अनिलकुमार थापाले संचालन गर्नुभएको थियो भने संस्थाको लेखा परिक्षकको प्रतिवेदन ब्यबस्थापक गोविन्द नेपालले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले जेष्ठ नागरिक,अपाङ्गता भएका ब्यक्ति,उत्कृष्ट बचत कर्ता,धेरै दुध बेच्ने किसान,उत्कृष्ट ऋणी,उत्कृष्ट बचत समुह,उत्कृष्ट फलफुल उध्यमी,एकल महिला मध्ये उत्कृष्ट कारोबार गर्ने प्रत्येक वडाका एकजना एकल महिलालाई सम्मान गरिएको संस्थाका सहायक प्रबन्धक बिना पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा लोक गायक भिमसेन खतिवडा,राधिका हमालले आफ्नो प्रस्तुति प्रस्तुत बाट मनोरञ्जन गराउनुभएको थियो ।