विदुर आचार्य , चौतारा ।
पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ गते सम्म राष्ट्रिय अभियानको रुपमा संचालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई खोप कार्यक्रममा सहभागी गराईने छ । साथै विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई खोप दिईने छ ।
पाठेघरको मुखको क्यान्सरबाट दैनिक नेपालमा चार जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । भविष्यमा हुनसक्ने जोखिम न्यूनिकरणको लागि एच.पि.भी. खोप अभियानकै रुपमा दिन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ २९ गते सम्म संचालन हुनेछ ।
कतिपय स्थानीय तहले भने माघ २९ अगाबै खोप संचालन सम्पन्न गर्नेगरी खोप तालिका निर्माण गरेका छन् । खोप सेवा संचालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खोप केन्द्रमा परिचालित हुनेछन् । खोप सञ्चालन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सबै स्थानीय तहमा संचालन गरी अभियान सुरुवातको तयारी पूरा भएको प्रमुख बजगाईंले जानकारि दिनुभयो । उहाँले उक्त खोप पूर्ण सुरक्षित रहेकोले सबै लक्षित बर्गलाई विश्वस्त भई सेवा लिन अनुरोध समेत गर्नुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले खोप केन्द्र व्यवस्थित रुपमा सञ्चालन गरि लक्षित उमेरका सबैलाई समेटिने गरि खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरीले जानकारी दिनुभयो । बलेफी गाउँपालिकाले खोप केन्द्र निर्धारण गरेको छ । गाउँपालिकामा सोमवार भएको अभिमुखिकरण तथा पालिका स्तरीय खोप समन्वय समितिको बैठकले केन्द्र निर्धारण गरी माघ २२–२५ खोप तालिका निर्माण गरी आवश्यक तयारी पूरा गरेको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले जानकारि दिनुभयो । जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लामा विद्यालय वाहिर रहेका ८० जना सहित कूल दश हजार ३ सय ४८ जना किशोरीहरुमा खोप लगाईने छ । चौतारा साँगाचोकगढी नगारपालिकामा १५४०, मेलम्ची नगरपालिकामा १७४५, बाह्रविसे नगरपालिकामा ९५७ जनामा खोप सेवा संचालन गरिने छ । त्यस्तै ईन्द्रावती ९९९, जुगल ८३३, त्रिपूरासुन्दरी ५३६, पाँचपोखरी ९१५, बलेफी ६५८, भोटेकोशी ४७२, लिसंखुपाखर ३०५, सुनकोशी ५७३ र हेलम्बु ८१६ जनामा खोप दिईने जनस्वास्थ्य कार्यालयले जानकारि दिएको छ ।