काठमाडौं । हरेकको घर, भान्सामा साङ्ला भेटिन्छ । खासगरी गर्मीयाममा साङ्लाले बढी दु:ख दिन्छ । मौसमी तापमान बढेसँगै घर–भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले जथाभावी फोहोर बनाउने मात्र हैन, खानेकुरा र भाँडाकुँडामा बसेर रोग फैलाउने गर्छ ।
साङ्ला ढल, बेसिन, गार्डेन हुँदै घरसम्म छिर्ने यस्ता साङ्लाले सिधै खानामा आक्रमण गरी खानामा रोगका कीटाणु सार्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । तर यस्ता खानेकुरा खाएमा मानिसलाई झाडापखाला, हैजा, टाइफाइड ज्वरो, भाइरल संक्रमण जस्ता समस्या हुनसक्ने उनी बताउँछन् ।
फुड पोइजन
जब खानेकुरामा साङ्लाले जुठो लगाउँछ, त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने ब्याक्टेरिया हुन्छ । यसको सेवनले फुड पोइजन तथा टाइफाइड हुनसक्छ ।
एलर्जी
साङ्लाको कारण संवेदनशील व्यक्तिलाई एलर्जीको समस्या गराउँछ । यसले छालामा समस्या ल्याउन सक्छ । साङ्लाले मुखबाट र्याल निकाल्छ । किनभने साङ्ला भान्छामा हुने भएकाले खानेकुरा पकाउने भाँडाकुडा तथा ओछ्यानमा पनि त्यसको र्याल रहन्छ । जसले एलर्जीको समस्या ल्याएर सुन्निने, चिलाउने, पोल्ने हुन्छ ।
ब्याक्टेरियाको कारण संक्रमण
साङ्ला बाथरुम, ढल जस्ता ठाउँमा बस्ने र फोहोर खानेकुरा खाने भएकाले साङ्लाको पेटमा सुडोमोनाज ऐरुगिनोसा नामक जीवाणु हुने अध्ययनले देखाएको छ । उक्त जीवाणु साङ्लाले खाएको खानामा पर्छ । त्यही खाना मानिसले खाँदा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ र पाचनसम्बन्धी विभिन्न रोग र सेप्सिस अर्थात् रगतमा इन्फेक्सनको कारण बन्न सक्छ ।
त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार साङ्लाकै कारण रोग सर्दैन तर यसले रोग सार्न सहायक भूमिका भने निर्वाह गर्छ । त्यसबाहेक साङ्लाले विभिन्न परजीवीहरूको अण्डा बोक्ने गर्छ, जसकारण आँखा सुन्निने, चिलाउने, पोल्ने, छालाको संक्रमणजस्ता समस्या हुनसक्छ ।
साङ्लालाई हटाउन निकै सकस हुने डा. पुन बताउँछन् । विभिन्न अध्ययनले साङ्लाको प्रजनन् क्षमता ब९ हुने र रोगप्रतिरोधात्मक क्षमता पनि बलियो हुने देखाएको छ । ‘त्यसैले कीटनाशक औषधि सजिलै पचाउनुका साथै साङ्ला घरको कुनाकाप्चामा बस्ने भएकाले यसलाई सजिलै हटाउन सकिंदैन,’ डा. पुन भन्छन्, ‘तर नेपालमा भने साङ्लासम्बन्धी कुनै अध्ययन गरिएको छैन ।’
कसरी जोगिने ?
साङ्लाले सार्ने रोगबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको घरको सरसफाइ नै हो । घर जति सफा राख्न सकियो, साङ्ला छिर्ने सम्भावना पनि त्यति नै कम हुन्छ । फोहोर राखिएको भाँडा दैनिक सफा राख्ने वा धुने, स्टोर रुम, अण्डरग्राउण्ड पार्किङलाई सुक्खा तथा सफा राख्ने, घरमा ग्रोसरी सामग्री, फोहोर लुगा, अण्डाको क्रेट लगायतका सामान ल्याउँदा एकपटक राम्ररी हेर्ने गरेमा घरमा साङ्ला आउनबाट रोक्न सकिन्छ । त्यसबाहेक ढल, फोहोर तथा पानीका मुहान बन्द गरेर पनि साङ्लाले सार्नसक्ने रोगबाट जोगिन सकिन्छ ।
विभिन्न कीटनाशक औषधि प्रयोग गरेर, खानालाई सफा भाँडामा बन्द गरेर, खाना राखेको वरपरको ठाउँलाई राम्ररी सफा गरेर तथा खानाको गन्ध हटाएर पनि नियन्त्रण गर्न सकिन्छ ।
साङ्ला मार्न प्रयोग गर्न सकिने ६ सामग्री
एन्टिरोच जेल
बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो । किनभने यसमा साङ्लालाई आकर्षित गर्ने तरलता हुन्छ, जसको एक थोपा पनि साङ्ला मार्न पर्याप्त हुन्छ ।
साङ्लालाई त्यो झोलले आकर्षित गर्छ । जब त्यो औषधि साङ्लाले खान्छ, २–३ घण्टापछि साङ्ला मर्न थाल्छ । यो औषधि प्रयोग गर्न पनि सजिलो छ । भान्सादेखि घरको कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राखिदिनुपर्छ । धेरै साङ्ला साँघुरो ठाउँमा आउँछन् ।
रेड हिट कक्रोच किलर स्प्रे
रेड हिट कक्रोच किलर स्प्रेले घरमा रहेका साङ्ला तुरुन्तै हटाउन सकिन्छ । यसले तुरुन्तै साङ्ला मार्न सकिने भएकाले धेरैले यसको प्रयोग गर्छन् ।
मोर्टिन टु इन वान
मोर्टिनको खुबी साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरु पनि मार्न सक्छ । त्यसैले पनि यसलाई टु इन वान पनि भनिन्छ । घरबाट साङ्ला हटाउन सबैभन्दा पहिला बोतल एकछिन हल्लाउने अनि साङ्ला भएको ठाउँमा मोर्टिन छर्किनुपर्छ ।
बेगन
साङ्ला मार्नका लागि धेरैले प्रयोग गर्ने औषधि बेगन स्प्रे हो । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाउँछ, त्यसपछि साङ्ला मर्छ । यो जेल खाएर साङ्ला संक्रमित हुन्छ र अन्य साङ्लालाई पनि संक्रमण फैलाउँछ । जसकारण अरु साङ्ला पनि मर्छन् ।
यसमा प्रयोग हुने केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले स्प्रे छर्किंदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन ।
लक्ष्मणरेखा
लक्ष्मणरेखा पनि साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो उत्पादन नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै रुचाइएको छ । लक्ष्मणरेखाको प्याकेटमा चक हुन्छ । चकले धर्को घरको ठाउँठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।
कक्रोच किलिङ बेट
कक्रोच किलिङ बेट पाउडर साङ्लालाई मात्र नभई त्यसको अण्डालाई पनि मार्न प्रभावकारी छ । यसको धुलो साङ्ला आउने ठाउँमा छर्नुपर्छ । यो केमिकल फ्री पाउडर भएको कारण वातावरणमैत्री पनि रहेको छ ।
साङ्लाको उत्पत्ति
साङ्लाबारे गरिएको एक अध्ययनले साङ्लाको उत्पत्ति भारत र म्यानमारबाट भएको देखाएको छ । त्यहाँबाट बिस्तारै अन्यत्र फैलिएको मानिन्छ । उक्त अध्ययनका लागि अनुसन्धानकर्ताहरूले ६ महादेशका १७ मुलुकबाट २८० साङ्ला जम्मा पारेका थिए । उनीहरूका अनुसार हाल विश्वभर फैलिएको साङ्लो जर्मन प्रजातिको हो । यसको उत्पत्ति भने दक्षिणपूर्वी एसियामा २१ सय वर्ष पहिले भएको अनुसन्धानकर्ताहरूको दाबी छ ।
कसरी फैलियो साङ्ला ?
साङ्ला दुई रूटबाट विश्वभर फैलिएको देखिएको छ । पश्चिम एसियाबाट पश्चिमा मुलुकमा १२ सय वर्षअघि साङ्ला पुगेको मानिन्छ । रोटीको टोकरीबाट पश्चिम मुलुकमा साङ्लो पुगेको अनुसन्धानकर्ताहरू बताउँछन् । त्यसपछि २७० वर्षअघि युरोप पुग्ने ब्रिटिश इस्ट इन्डिया कम्पनीका सैनिकबाट साङ्लो युरोप छिरेको अुसन्धानकर्ताहरूको जिकिर छ । हाल विश्वभर पाइने साझा प्रजातिको जर्मन साङ्लोको उत्पत्ति भारत र म्यानमारमा भएको बताइन्छ ।