ग्लोबल कलेजको सभा हलमा Explore Idea द्वारा आयोजित “Echoes of Excellence: Explore, Engage, Enjoy” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई प्रमुख प्रायोजक गुरुकुल सि ए, ए सि सि ए पार्टनर सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सि सि ए) लगायत विभिन्न साझेदारी संस्थाहरुले प्रायोजन गरेका थिए। कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो, जसअन्तर्गत पहिलो चरणमा Idea Pitching Contest, दोस्रो चरणमा “Business Culture in Nepal” विषयक अन्तरक्रिया कार्यक्रम र तेश्रो चरणमा Kali Prasad Baskota & Sathi Bhai को साङ्गितिक प्रस्तुती एवं मनोरञ्जनात्मक कार्यक्रम समावेश थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभाको माननीय उपसभामुख इन्दिरा राना ज्यूको उपस्थिति रहेको थियो भने कार्यक्रममा ग्लोबल कलेजका प्राचार्य अम्बा दत्त जोशी ज्यूले सभापतित्व ग्रहण गर्नुभएको थियो। कार्यक्रमको पहिलो चरणमा रातो बंगला स्कूल, युनिग्लोब सेकेन्डरी स्कूल, नाइटिङ्गेल कलेज, काञ्जिरोवा स्कूल, तथा ग्लोबल कलेज अफ म्यानेजमेन्ट का विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले नवीनतम तथा व्यावहारिक व्यापारिक विचारहरू प्रस्तुत गरेका थिए, जसमा प्रविधि, सामाजिक उद्यमशीलता, वित्तीय सम्भाव्यता, तथा बजार आवश्यकतालाई सम्बोधन गर्ने योजनाहरू समेटिएका थिए।
प्रतियोगिताका निर्णायकहरू सीए सबिन कार्की, दर्शन पराजुली, तथा स्विकृति न्यौपाने रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको आइडिया तथा प्रस्तुतीकरणको विस्तृत मूल्याङ्कन गरेका थिए। प्रतियोगिताको अन्त्यमा विजयी टिम युनिग्लोब सेकेन्डरी स्कूल लाई स्वर्ण पदक, प्रमाण पत्र, ट्रफी, तथा नगद रु. १५,००० प्रदान गरिएको थियो। कार्यक्रमको दोस्रो चरणमा करिव ५०० दर्शकहरूको उपस्थिति रहेको यस कार्यक्रममा प्रमुख प्यानलिस्टका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष, चन्द्र प्रसाद ढकाल, SG ग्रुपका अध्यक्ष, शिव प्रसाद घिमिरे, तथा यति डिस्टिलरीका अध्यक्ष, रवि के.सी. उपस्थित थिए। कार्यक्रमको मोडरेटर एक्स्प्लोर आइडियाका अध्यक्ष रोशन सुवेदीले गरेका थिए। छलफलका क्रममा नेपालको व्यवसायिक वातावरण, उद्योगका अवसर र चुनौतीहरू, तथा व्यवसायिक संस्कृति का विभिन्न पक्षहरूबारे गहन छलफल गरिएको थियो। कार्यक्रमलाई अझ आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए। लक्की ड्र सेसनमा भाग्यसाली विजेताहरुलाई विभिन्न पुरस्कारहरू वितरण गरियो।
गायक कालिप्रसाद बास्कोटा र समुह ले दमदार प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। ग्लोबल कलेजका अतिरिक्त क्रियाकलाप संयोजक जय देव गौडेलका अनुसार “Echoes of Excellence: Explore, Engage, Enjoy” कार्यक्रम अत्यन्त सफल रह्यो। यसले विद्यार्थीहरूलाई व्यवसायिक ज्ञान तथा सिर्जनात्मक सोच विकास गर्न प्रेरित गर्दै विद्यार्थीहरूलाई आफ्ना व्यापारिक विचारहरू सृजना, सुधार, र प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर दियो, साथै निर्णायकहरूको समीक्षा तथा सुझावले प्रतिस्पर्धीहरूलाई आफ्नो विचारलाई अझ परिष्कृत गर्ने प्रेरणा प्रदान गर्यो। यस्तो प्रेरणादायी कार्यक्रमहरूले नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई प्रवर्द्धन गर्दै भविष्यका व्यवसायिक नेताहरूलाई सक्षम बनाउने विश्वास लिइएको छ।




