काठमाडौं । ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिए । मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम धनराज गुरुङ र ज्योति गुरुङमार्फत ज्योति भण्डारीले ठगी गरेको भन्दै उनले न्याय मागे ।
कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ । ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन् ।
ललितपुरस्थित मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ र उनका पति धनराज गुरुङले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि संसदीय छानबिन समितिले संस्थाका अध्यक्ष कुम्भराजलाई बोलाएको थियो ।
कुम्भराजले जे हो सबै प्रमाणहरू समेत बुझाएका छन् र यो बुढेसकालमा नखाएको विष नलागोस् भनिरहेका छन् । आखिर के हो त मितेरी सहकारीको ठगी प्रकरण र कसरी जोडिए कांग्रेस उपसभापति धनराज गुरुङ यो ठगीमा ?
यसबारे मितेरीका अध्यक्ष कुम्भराजसँग नेपाल प्रेसले गरेको कुराकानी जस्ताका तस्तै पढौं-
मितेरी सहकारी संस्थाको कार्यकारी अध्यक्ष म हुँ । हामी ब्रिटिस र इण्डियन आर्मीमा काम गरेकाहरू मिलेर केही राम्रो गरौं भनेर थालेका थियौं । यसको महाप्रबन्धक ज्योति गुरुङले गर्दा अहिले यो उमेरमा हामी एक पैसा लोभ नगर्ने मान्छेहरूलाई समस्या भयो ।
धनराज गुरुङ र म एकै ठाउँको हौं । धनराज पार्टीको उपसभापति, म पनि पार्टीको महासमिति सदस्य छु स्याङ्जाबाट ।
ज्योति गुरुङले बदमासी गरेको कुरा धनराजलाई भनेपछि उनी पनि बसेर मौखिक सहमति गरेपछि रकम फिर्ता गर्ने भनियो तर ४ वर्ष भइसक्यो आएन । संस्थाको तर्फबाट लेखापरीक्षण प्रतिवेदनसहित सबै प्रमाणसमेत मिलाएर सिआइबी र संसदीय समितिमा जाहेरी दिने भनिएको हो । बोधविक्रमजी सचिव हो, उहाँले उजुरी लगेको थियो, दर्ता भए नभएको थाहा चाहिँ छैन । तर, मलाई सूर्य थापाजी सभापति भएको समितिले बोलाएर सोधेपछि सबै विवरण दिएको छु ।
ज्योति गुरुङले बदमासी गरेको कुरा लकडाउनको समयमा पत्ता लाग्यो । ज्योतिले पटकपटक विभिन्न व्यक्तिका नाममा पैसा निकालेर करोडौं रुपैयमा अपचलन गरेको भेटिएपछि हामीले धनराजलाई राखेर छलफल गरेको हो । उसले संस्थाको वचत रकम अपचलन गरेको भेटिएपछि पटकपटक बैठक राखेर सोध्दा उनले आफ्नो बदमासी स्वीकार गरिन् । उनी र उनकी सानिमा कमला मिलेर गरेका रहेछन् तर कमलाले नै अहिले उजुरी हालेकी छ ।
हामीले पैसा उठाएर हिसाब बुझाऊ भनेपछि उनीहरू श्रीमान्-श्रीमती धनराज र ज्योति बसेर बोर्डमा मौखिक सहमति गरेर हिँडेका थिए । यो भनेको २०७६ सालपछिको कुरा हो कोराना महामारीपछि । उनीहरूले त्यो पैसा आफूहरूले बैंककमा व्यापार गर्ने ज्योतिबहादुर भण्डारी भन्नेलाई दिएको भनेका थिए । बैंककमा गएर पैसा उठाएर आउँछु भनेकी ज्योति गुरुङ त्यसपछि उतै अमेरिका कि कता गइन् भन्ने सुनियो ।
एकपटक ज्योतिबहादुर भण्डारीले त्यो सहकारीको पैसामा अब धनराज दाइ र भाउजूलाई माग्नु पर्दैन सबै पैसा मेरो जिम्मा भयो उहाँहरूलाई टाउको दुःखाउने काम नगर्नुस् भनेर फोन गरेको थियो । अहिले त्यो ज्योति पनि काठमाडौंमा छ भन्ने सुनियो । यसबीचमा धनराजले मैले त डिभोर्स गरिसकेँ अब ज्योतिलाई च्याप उसैले ज्योति भण्डारीबाट पैसा दिलाउँछे भन्न थाले । धनराजले ज्योति र उनको नाममो लोन चाहिँ क्लियर गरेको छ तर त्यो अपचलन भएको रकम आएन ।
हाम्रो सहकारीको आफ्नो छानबिन समितिले निकालेको हिसाबले १२ करोड ५० लाख रूपैयाँ अपचलन भएको छ । पछि अडिटरले हिसाब गर्दा र ब्याजसमेत जोड्दा १४ करोड ८१ लाख रूपैयाँ भेरिफाइ गरेको छ । अहिले म अलपत्र परेको छु, आफूले नगरेको गल्तीमा संस्थालाई बदनाम गर्न खोजियो, संस्थागतरूपमा अहिले कुनै समस्या छैन । तर, धनराज र ज्योतिले समस्या बनाए ।
मलाई अस्ति संसदीय समितिले बयानका लागि बोलायो । सीआईबीबाट पनि मलाई डीआईजी हो कि कसले फोन गर्नुभएको थियो । मैले तुरुन्त धनराजलाई फोन गरेँ, यस्तो-यस्तो बयानका लागि बोलायो भने । उनले जानुस् दाइ, सिम्पल प्रश्न होलान्, अरु धेरै केही नभन्नु भने । समितिको सभापति सूर्य थापासँग मेरो व्यक्तिगत चिनजान पनि भएकाले सबै कुरा उहाँलाई एक्लै पनि बसेर बताएको छु ।
हाम्रो संस्थाको वचत रकम ज्योति गुरुङले अपचलन गरेको सत्य हो । पछि धनराजसमेत बसेर तिर्ने भनी मौखिक सहमति भएको हो । मैले १६ वटा प्रश्नको जवाफ दिएर राति फर्किएको हुँ । ज्योति भण्डारी भन्ने व्यक्ति पनि काठमाडौंमै छ, भनेर उसको पासपोर्टको कपीसमेत दिएको छु । त्यसलाई इमिग्रेसनबाट रोक्न सकियो भने पनि पैसा उठ्न सक्छ भन्ने लाग्छ ।
अब धनराजले डिभोर्स गरेको भन्छन् । त्यो नक्कली हो पनि भन्छन् कसैले । नक्कली हो कि सक्कली भन्ने त हामीले कसरी जान्ने र ? तर, डिभोर्स गरेपछि पनि श्रीमतीको नामको लोन चाहिँ तिरेको छ । डिभोर्स गरेको श्रीमतीको लोन तिर्न के खाँचो पनि भन्लान् कतिपयले । तर, हामीलाई चाहिएको भनेको त्यो १५ करोड रूपैयाँ हो । अहिले आरोपीबाट धनराजको नाम हटाउन मलाई दबाब छ हेर्नुस् तर ज्योतिको तीन पुस्ता खुलाउँदा त जसरी पनि आइहाल्छ ।
हेर्नुस् म बेलायती सेनामा धेरै प्रशंसापत्र पाएको इमानदार सैनिक हुँ, यो कुरा मैले दिलेन्द्र बडूलाई र ईश्वरी न्यौपानेलाई पनि सबै बताएको छु । मलाई कसैको नाम लिएर फसाउनु छैन तर संस्था जोगिनुपर्छ र हामीलाई कुनै समस्या आउनु हुँदैन भन्ने कुरा हो । ६ वर्षसम्म एक पैसा भत्तासमेत नलिई यो संस्था मैले चलाएको छु । सहकारी छानबिन समिति र सरकारका निकायबाट सत्य तथ्य छानबिन होस् भनेको छु ।