मानव जीवनका लागि यौन स्वास्थ्यको एक महत्त्वपूर्ण भाग हो । यो आनन्द प्राप्तिसँग पनि सम्बन्धित छ । मानिसहरु उमेर बढेसँगै उनीहरूको यौन क्रियाकलाप बन्द हुने वा यौन कार्यसँग टाढा हुँदैनन्, यद्यपि शारीरिक परिवर्तनको परिणाम स्वरुप आफ्नो यौन गतिविधि परिमार्जन गर्न सक्छन् ।
हाल विश्वभर मानिसको औसत उमेर बढेसँगै जनसंख्याको अनुपातमा ६५ वर्षको उमेर समूहका मानिसको संख्या पर्याप्त बढेको छ । नेपालमा विगत ३० वर्षको अवधिमा ६५ वर्ष र सोभन्दा माथिको जनसंख्या ५.८ प्रतिशतबाट बढेर ७.४ प्रतिशत भएको छ भने सोही अवधिमा कुल प्रजनन् दरबाट घटेर चार भन्दा पनि कम हुन पुगेको छ ।
स्वास्थ्य उपचार प्रणाली र प्रविधिको विकाससँगै ६०-६५ वर्षको उमेरमा पूर्ण रूपमा शारीरिक, मानसिक तथा संवेगात्मक रुपमा मानिस सक्रिय तथा तन्दुरुस्त भइरहेका छन् । उनीहरू नियमित कार्यसँगै यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा पनि सक्रिय सहभागी हुन चाहन्छन् ।
यौन जीवनका लागि आवश्यक क्रिया हो । प्राकृतिक यौन क्रियाबाट शरीर शुद्धिको मान्यता रहेको मानिन्छ । उमेरको वृद्धिसँगै शरीरको सक्रियतामा पनि वृद्धि भए समयको अन्तराल र शारीरिक बनोटका साथै वृद्धवृद्धामा यौन चाहनाको आरोह-अवरोह भइरहेको हुन्छ ।
शरीर कमजोर भए पनि मनले यौनप्रति आकर्षित गरिरहने हुनाले वृद्ध-वृद्धामा प्रत्यक्ष वा अप्रत्यक्ष यौन आकर्षण भइरहेको हुन्छ, त्यसैले उनीहरू विपरीत लिङ्गीप्रति नजिक हुने, स्पर्श गर्ने र उनीहरूको सामीप्यमा रमाउने गर्छन् । कति वृद्धवृद्धामा यौन अतृप्तता रहिरहेकै कारण र त्यसप्रतिको थप आकर्षणले उनीहरू यौवनकै सरह यौनक्रीडामा सरिक हुन चाहन्छन् ।
शरीरको खानपानसँगै शरीरको सक्रियता र हर्मोनको उत्पादनसँगै यौनक्रियामा मन लाग्नु असान्दर्भिक होइन तर उमेरको वृद्धिसँगै कम हुनु स्वाभाविक हो । वृद्धवृद्धाको यौन आशक्तिलाई भिन्न दृष्टिले हेर्न नहुने तथा सामाजिक मर्यादा, नैतिक अनुशासनको दायरामा राखेर जैविक चाहनाका विषयलाई सामान्यीकरण गर्नु नै वृद्ध यौन मनोविज्ञानको अभीष्ट पनि हो ।
वृद्धवृद्धामा यौन चाहना हुनुहुँदैन वा देखिनु हुँदैन भन्ने भ्रमबाट मुक्त गर्नु पनि वृद्ध यौन मनोविज्ञान हो । त्यसैले समाजमा रहेका वृद्धहरूका मनोभावना अनुरूपमा वृद्ध यौनमनोविज्ञान बुझ्न सक्नुपर्छ । यौन समग्र जीवनभन्दा भिन्न विषय होइन, केवल उमेरगत रूपमा भिन्न तरिकाबाट हेरिने र बुझिने भएकाले मात्र अलि यसका बारेमा भिन्न सोच रखिएको हो ।
यसका बारेमा ज्ञान तथा उमेरअनुसारको सीपको खोजीमा हुन्छन् । हाम्रो समाजमा यौनक्रियाको बारेमा छलफलहरू विरलै हुने गरेका छन् । किशोरावस्था तथा वयस्क अवस्थामा यौनका बारेमा कुरा नगर्ने हाम्रो समाजले जेष्ठ नागरिकहरू अझ धेरै भ्रममा बसिरहेको अवस्था छ ।
यौन जीवनको सन्दर्भमा उमेरको वृद्धिसँगै शारीरिक सक्रियता घट्न सक्छ, तर यौन चाहनामा आउने आरोह-अवरोह पनि सामान्य हो । वृद्धवृद्धाहरूमा यौन आकर्षण र चाहनाको अवस्था विभिन्न किसिमले देखिन्छ । यसको समाजले पुरानो र गलत दृष्टिकोणबाट हेरिराखेको छ, जसलाई बदल्नुपर्ने आवश्यकता छ । वृद्ध यौन मनोविज्ञानले यौन आकर्षणलाई उमेरको भिन्नतालाई ध्यानमा राखेर सामान्यीकरण गर्नुपर्छ । यस बारेमा हाम्रो समाजमा व्याप्त केही गतल धारणाबारे चर्चा यस प्रकार छ ।
पहिलो गलत धारणा यो हो कि ज्येष्ठ नागरिकहरू यौनसम्पर्कमा सक्रिय वा यौनमा रुचि छैन, त्यसैले उनीहरूको यौन स्वास्थ्यको बारेमा सोध्न नै पर्दैन । हुन त उमेरसँगै उनीहरूको यौन गतिविधिमा कमी तथा फरक हुन्छ तर पनि ज्येष्ठ नागरिकहरू वयस्क जत्तिकै यौनकार्यमा सक्रिय पनि छन् । इङ्ल्याण्डमा भएको एक अध्ययनमा ६०-६९ वर्षको उमेरका ८६ प्रतिशत पुरुष र ६० प्रतिशत महिला यौन क्रियाकलापमा सक्रिय भएको देखिएको छ ।
७०-७९ वर्ष उमेरका ५९ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला र ८० वर्ष वा माथिका ३१ प्रतिशत पुरुष र १४ प्रतिशत महिला ९० वर्षभन्दा माथिका १० प्रतिशतले यौन क्रियाकलापमा सक्रिय रहेको देखाएको छ ।
अर्को, एक अमेरिकी अध्ययनमा ७५-८५ वर्ष उमेरका मानिसहरू जो यौन कार्यमा सक्रिय थिए, तिनीहरूको भनाइमा ५४ प्रतिशतले महिनामा दुई वा तीन पटक २३ प्रतिशतले प्रतिहप्ता एक वा धेरै पटक यौनसम्पर्क गरेको देखाएको छ । यसले ज्येष्ठ नागरिकहरूको जनसंख्यामा यौनमा रुचि हुन्छ र यौन कार्यमा संलग्न हुन्छन् भने धारणा स्पष्ट छ ।
अमेरिकन एसोसिएसन अफ रिटायर्ड पर्सन्स हेल्दीमा ६५-८० वर्ष उमेरका व्यक्तिहरूको सर्वेक्षणमा दुई तिहाइ व्यक्तिले यौनमा रुचि रहेको र ५० प्रतिशत भन्दा बढीले स्वस्थ जीवनका लागि यौन महत्त्वपूर्ण छ भन्ने धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी नेपालको परिवेशमा अध्ययन भएको छैन तर ६५ वर्षभन्दा माथिका मानिसको विवाह तथा अनेक प्रकारमा यौनजन्य गतिविधिबारे चर्चा आउने गरेका छन् । तर किन त्यस्तो हुन्छ वा भइरहेका छन् भन्ने बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । यसको आवश्यकता भने छ जसले समाजमा हुने अपराधमा पनि कमी ल्याउन सकिन्छ ।
दोस्रो सामान्य गलत धारणा के छ भने ‘सेक्स’ शब्दले साझेदार यौन सम्बन्धलाई मात्र जनाउँछ । सम्भोग, जुन धेरै ज्येष्ठ नागरिकका लागि यौन कार्यका लागि यौन दुर्बलता, योनी सुक्खापन, सीमित गतिशीलता, औषधिको प्रभाव वा गम्भीर स्वास्थ्य समस्याका कारण आफ्नो यौन गतिविधिलाई सामान्य सोचे जस्तो नहुन सक्छ ।
पोल्याण्डमा गरिएको एक अध्ययनमा ज्येष्ठ नागरिकहरूले शारीरिक र भावनात्मक आत्मीयताका लागि यौनिकताका विभिन्न अभिव्यक्ति दिएका छन्, जसलाई उनीहरूले यौनसम्पर्क मानेका छन् । ज्येष्ठ नागरिकहरूसँगको अन्तरक्रियामा विपरीत लिङ्गीसँगको यौनक्रियाभन्दा बाहिरका यौन गतिविधिहरू जस्तै– मुखमैथुन, चुम्बन, स्नेह र हस्तमैथुन गर्न सकिन्छ भन्ने छ । त्यसबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र स्वास्थ्य सेवा प्रदायक तथा परिवारहरूले यस कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
तेस्रो गलत धारणा भनेको ज्येष्ठ नागरिकहरू सरुवा यौन रोगहरूको जोखिममा छैनन् । त्यसैले त्यहाँ उनीहरूको यौन व्यवहार तथा यौन इतिहासको बारेमा सोध्न वा छलफल गर्न आवश्यक छैन । सरुवा यौन रोगको दर हेर्दा ५५ वर्ष वा सोभन्दा माथिका मानिसहरूमा संक्रमण लगातार बढेको छ । पछिल्लो दशकको तुलनामा दोब्बरभन्दा बढी मात्रामा बढेको देखाएको छ ।
यो पुस्ताले त्यस समयमा औपचारिक रूपमा यौन तथा प्रजनन् स्वास्थ्य सुरक्षाको बारेमा कुनै सूचना नपाएकाले सरुवा रोगको क्रम बढिरहेको छ । त्यस समयमा एचआईभी लगभग सुनिएको थिएन । यो समयको मुख्य चिन्ता गर्भ रहला कि भन्ने नै थियो ।
आजभोलि विभिन्न यौनजन्य तथा यौन सम्पर्कबाट संक्रामक रोग लाग्छ । त्यसैले कुनै सुरक्षाका विधिहरु प्रयोग नगरिने, यौन कार्यले ज्येष्ठ नागरिक तथा अन्य व्यक्ति संक्रमित हुने सम्भावना हुनसक्छ । त्यसैले यौन तथा प्रजनन् स्वास्थ्यमा कार्य गर्नेहरूले किशोरावस्था मात्र होइन वयस्क तथा ज्येष्ठ नागरिकहरूलाई पनि ध्यान दिनुपर्ने देखिन्छ ।
प्रचलन अनुसारको असजिलोका बाबजुद जुनसुकै उमेर समूहका बिरामी आएपनि चिकित्सकले यौनको बारेमा छलफल गर्न र नियमित स्वास्थ्य परीक्षणमा यौन स्वास्थ्य र यसले पार्ने प्रभावको चिन्तालाई पनि एक हिस्सा बनाउन आवश्यक छ ।
संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययन अनुसार पछिल्लो दुई वर्षमा यौन समस्याबारेमा केवल १७ प्रतिशतले आफ्नो चिकित्सकसँग कुरा गरेको सुनाए र यीमध्ये ६१ प्रतिशत बिरामीद्वारा छलफल सुरु गरियो । यौन स्वास्थ्य समस्या एक चेतावनीको संकेत हुनसक्छ । निदान नभएको अवस्था, औषधिको साइड-इफेक्ट वा यौनबाट सर्ने संक्रमणको संकेत, ती सबै सम्भावित रूपमा उपचार योग्य र महत्त्वपूर्ण छन् । यस बारेमा हाम्रो समाज राज्य तथा अन्य निकायबाट समयमा निदानका उपयुक्त कदम चालिएका छैनन् ।
आजभोलि पत्रपत्रिका, रेडियो, टेलिभिजनमा दैनिकजसो यौनका समाचार आउँदैछन् । जहाँ कुनै उमेर समूह छुटेका छैनन् । त्यसमा पनि ज्येष्ठ नागरिकको विवाह, सम्बन्ध विच्छेद, यौन दुर्व्यवहार, जबर्जस्ती करणी लगायत समाचार छुटेका छैनन् । तर हामीले अझैपनि उनीहरूको यौन स्वास्थ्यको बारेका नीति योजना तथा कार्यक्रम बनाउन ध्यान दिएका छैनौं । यस बारेमा सोच्नेबेला आइसक्यो ।
(अनुसन्धाता अधिकारी अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । उनी नेसनल इन्स्टिच्युट अन एजिङ एण्ड हेल्थका सहसंस्थापक समेत हुन् ।)