फ्लाइट ९३ आफ्नो निर्धारित समयभन्दा ४० मिनेट ढिलो भैसकेको थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ जहाज न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा उडानको पर्खाइमा रहेको थियो ।
अरबी मुलका चार जना मानिसहरू फर्स्ट क्लासको पहिलो ६ पङ्क्तिमा छरिएका थिए । उनीहरूले आफ्नो फर्कने टिकट किनेका थिएनन् ।
अघिल्लो रात उनीहरूले अरबी भाषामा लेखिएको एउटा दस्तावेज पढेका थिए । जसले उनीहरूलाई हरेक लोभबाट आफूलाई अलग गर्न, संघर्षका लागि आफूलाई बलियो बनाउन, र मृत्युवरण गर्ने प्रतिज्ञा दोहोर्याउँदै बारम्बार ईश्वरलाई सम्झन निर्देशित गरेको थियो ।
टम म्याकमिलन आफ्नो किताब ‘फ्लाइट ९३ : द स्टोरी, द आफ्टरमाथ एण्ड द लेगेसी अफ अमेरिकन करेज’मा लेख्छन्, ‘यति सूक्ष्म तयारीका बाबजुत अल-कायदाले उडानमा ढिलाइ पनि हुन सक्छ भन्ने सम्भावनाको बारेमा सोचेको थिएन । उनीहरूको यो योजना पहिलोपटक १९९६ मा अफगानिस्तानका पहाडहरूमा बनाइएको थियो र त्यसपछिका धेरै वर्षहरूमा त्यसमा परिमार्जन गरिएको थियो ।’
विमान अपहरणका लागि छानिएका चार उडानहरू त्यस बिहान ७:४५ देखि ८:१० को बीचमा उडान हुने तय भएका थिए । विमानको टेकअफ भएको १५ मिनेटभित्रै अपहरण गर्ने कुरा पनि तय गरिएको थियो।
यदि अलकायदाका पूर्वनिर्धारित सबै कुरा योजना अनुसार समयमै काम भएको भए, एक-एक गर्दै ती चारवटा विमानहरू अमेरिकाका प्रमुख भवनहरूमा ठोक्किन्थे र अमेरिकी नेताहरू र सैन्य नेतृत्वलाई सोच्ने समय पनि मिल्दैनथ्यो ।
विमानहरूका ककपिटमा घुसपैठको चेतावनी
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको रेकर्ड अनुसार, ठीक ८ बजेर ४१ मिनेट ४९ सेकेन्डमा एयर ट्राफिक कन्ट्रोलरले फ्लाइट ९३ का कप्तान जेसन डाल र फर्स्ट अफिसर लेरोए होमरलाई रनवे चारबाट टेकअफ गर्ने निर्देश गरे ।
एक मिनेटपछि, फर्स्ट क्लासमा बसेका जियाद जर्राह, अहमद अल हजनावी, अहमद अल नमी र सईद अल गाम्दीले आफूलाई मिशनको लागि तयार गरे । त्यो मङ्गलबारको दिन थियो । मिति थियो-११ सेप्टेम्बर, २००१ ।
अन्ततः फ्लाइट ९३ ले विमानस्थलको रनवे छाड्यो । सो विमान लगभग खाली थियो । १८२ यात्रु क्षमता भएको विमानमा जम्मा ३३ जना यात्रु थिए ।
ठीक ८ बजेर ४० मिनेटमा एउटा विमान ५०० किलोमिटर प्रतिघण्टाको गतिमा वर्ल्ड ट्रेड सेन्टरसँग ठोक्कियो। त्यसले गगनचुम्बी भवनको ९३औं र ९९ औं तलाबीचमा एउटा ठूलो प्वाल बनायो ।
त्यसको १७ मिनेटपछि, ९ बजेर ३ मिनेटमा अर्को विमानले दक्षिणी टावरलाई ठक्कर दियो । अनि बल्ल अमेरिकी प्रशासनलाई अमेरिकामाथि हमला भइरहेको थाहा भयो ।
९ बजेर १९ मिनेटमा युनाइटेड फ्लाइटका सूचक एड बेलिंगरले त्यस क्षेत्रमा उडिरहेका १६ वटा विमानहरूलाई पहिलो चेतावनी जारी गरे, ‘ककपिटमा हुनसक्ने घुसपैठको लागि सावधान रहनुहोस् । न्यूयोर्कमा दुईवटा विमान ट्रेड सेन्टर भवनसँग ठोक्किएका छन्।’
उडानका रेकर्डहरूले देखाए अनुसार फ्लाइट ९३ लाई यो सन्देश ९ बजेर २४ मिनेटमा प्राप्त भएको थियो । ९ बजेर २६ मिनेटमा क्याप्टेन डालले बेलिंगरलाई जवाफ दिए, ‘एड, पछिल्लो सन्देश पुष्टि गर्नुहोस् त ।’
त्यसको ठीक दुई मिनेटपछि, ९ बजेर २८ मिनेटमा, फ्लाइट ९३ को ककपिटको ढोका बाहिर केही आवाज सुनियो।
एयर ट्राफिक कन्ट्रोलरले आवाज सुने
टाउकोमा रातो स्कार्फ बाँधेका चारै जना अपहरणरहरू झटपट आफ्ना सीटबाट उठे । उनीहरू ९ बजेर २८ मिनेटमा ककपिटमा प्रवेश गरे ।
त्यस कुराको सबैभन्दा ठूलो प्रमाण यो थियो कि ठीक त्यही समयमा विमान ३० सेकेन्डभित्रै ६८० फिट तल झर्यो ।
त्यही बेला क्लीभल्याण्डको एयर ट्राफिक कन्ट्रोलरले उक्त विमानका पाइलटले बोलेको आवाज सुने, ‘मे डे….गेट आउट अफ हियर।’
३० सेकेन्डपछि फेरि त्यही वाक्य तीनपटक सुनियो, ‘गेट आउट अफ हियर।’ अर्थात् यहाँबाट बाहिर निस्क ।
पृष्ठभूमिमा संघर्षको दबिएको आवाज पनि सुनिन्थ्यो । हुनसक्छ डाल वा होमरले जानाजानी माइक्रोफोनको बटन दबाइराखेका थिए, ताकि जमिनमा रहेका व्यक्तिहरूलाई ककपिटमा के भइरहेको छ भन्ने थाहा होस् ।
मिचेल जुकौफ आफ्नो किताब ‘फल एन्ड राइजः द स्टोरी अफ ९/११’ मा लेख्छन्, ‘अर्को ९० सेकेन्डमा, क्लीभल्याण्ड एयर ट्राफिक कन्ट्रोलरका जोन वर्थले विमानसँग सम्पर्क गर्न सातपटक प्रयास गरें तर कुनै जवाफ आएन । केही बेरमा उनलाई यसको कारण थाहा भयो ।’
९ बजेर ३१ मिनेटमा एक अज्ञात व्यक्तिले गहिरो सास फेर्दै अजीव अनौठो तबरले बोल्न थाल्यो ।
यो सन्देश विमानमा बसेका यात्रुहरूका लागि थियो, तर एयर ट्राफिक कन्ट्रोलरहरूले पनि सुने ।
सन्देश थियो, ‘महिला तथा सज्जन वृद्ध । क्याप्टेन यहाँ छन् । कृपया सबैजना बस्नुस्, बसिरहनुहोस् । हामीसँग बम छ ।’
त्यतिबेलासम्म जियाद जर्राहले फ्लाइट ९३ नियन्त्रणमा लिइसकेका थिए ।
जब अनाडिलेझैं गरेर विमान तल झार्न थालियो
त्यसपछि जर्राहले फ्लाइट ९३ लाई वाशिङ्टनको दिशामा मोडे । ९ बजेर ३९ मिनेटमा विमानलाई ४० हजार फिटको उचाइमा लग्यो र त्यसपछि जहाज चलाउनै नजानेको मान्छेले जस्तै गरी विमानलाई तल झार्न थाल्यो ।
यसअघि, ९ बजेर ३३ मिनेटमा ककपिटमा रहेको एक महिलाको आवाज सुनियो, ‘कृपया, कृपया, कृपया… कृपया, कृपया मलाई नमार्नुस्…हे भगवान ।
सम्भवतः त्यो आवाज फर्स्ट क्लासकी महिला चालक दल सदस्य डेबी वेल्श वा वान्डा ग्रिनको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।
अनुसन्धानकर्ताहरुका अनुसार सेप्टेम्बर ११ का सबै चार विमानहरूमा भएको आक्रमण महिला क्रू सदस्यहरूमाथिको हिंसाबाट सुरु भएको थियो ।
९ बजेर ३५ मिनेटमा फेरि एक महिलाको आवाज सुनियो, जो भन्दै थिइन्, ‘म मर्न चाहन्न ।’
भ्वाइस रेकर्डरको अनुवाद अनुसार, ९ बजेर ३७ मिनेटमा ककपिटभित्र सबै प्रतिरोध समाप्त भइसकेको थियो । एकजना अपहरणकारी सम्भवतः सईद अल गाम्दीको आवाज सुनियो, ‘सब ठीक छ । मैले सक्काएँ ।’
त्यसपछि महिला चालक दल सदस्यको कुनै आवाज सुनिएको थिएन । त्यतिबेलासम्म उनलाई सायद मारिसकिएको थियो ।
जब यात्रुले विमानबाटै आफन्तलाई अपहरणमा परेको सुनाए
९ बजेर ३९ मिनेटमा जर्राहले उद्घोषण गर्ने दोस्रो प्रयास गरे ।
यसपटक उसको आवाज पहिलाभन्दा बढी नियन्त्रणमा र सम्हालिएको थियो । यो घोषणा पनि एयर ट्राफिक कन्ट्रोलरले सुने, ‘यहाँ क्याप्टेन छ । म तपाईंहरू सबैलाई बसिरहन अनुरोध गर्न चाहन्छु । हामीसँग जहाजमा बम छ र हामी एयरपोर्ट फर्किंदैछौंहा हामीले आफ्ना मागहरु राखेका छौं । त्यसैले कृपया शान्त रहनुस्।’
युनाइटेड एयरलाइन्सको विमानमा यात्रुहरू र चालक दललाई एक विशेष प्रविधि भएको ‘भेरिजोन’ एयरफोनको माध्यमबाट आकाशबाटै पृथ्वीमा कुराकानी गर्ने सुविधा दिइएको थियो ।
विमान अपहरण भएको ३० मिनेटभित्र, त्यसमा सवार १२ यात्रुहरूले २३औं र ३४औं पंक्तिबीच रहेको एयरफोनबाट ३५ पटक घरमा रहेका आफ्ना मान्छेहरुालई फोन गरे । तीमध्ये २० फोनहरू तुरुन्तै विच्छेद भएका थिए भने १५ वटा कल भने सफल भएका थिए ।
यी फोनहरूबाट फ्लाइट ९३ मा त्यस समय के भइरहेको थियो भन्ने धेरै संकेत प्राप्त भए । सबैभन्दा पहिले, ९ बजेर ३० मिनेटमा टम बर्नेटले क्यालिफोर्नियामा आफ्नी पत्नी डिनालाई फोन गरे ।
आफ्नो किताब ‘द ओनली प्लेन इन द स्काई’ मा ग्यारेट एम ग्राफ लेख्छन्, ‘डिनाले सोधिन्, ‘टम, तिमी ठीक छौ ?’ टमले जवाफ दिए, ‘छैन, म ठीक छैन । म त्यो विमानमा छु, जुन अपहरण भएको छ। अपहरणकारीहरूले एक व्यक्तिलाई छुरा हानेका छन् र अहिले हामीलाई भनिरहेका छन् कि विमानमा बम राखिएको छ । तिमीले यस बारेमा प्रशासनलाई सूचित गर।’
यात्रुहरूलाई विमानको पछाडि लगियो
विमानकी परिचारिका स्याण्डी ब्रेडशाले सबैभन्दा पहिले यस विषयमा युनाइटेड एयरलाइन्सलाई सूचित गरिन् । उनले ९ बजेर ३५ मिनेटमा ३३औं पंक्तिबाट सैन फ्रान्सिस्कोको मेन्टेनेन्स कार्यालयलाई फोन गरेर प्रबन्धकलाई भनिन्, ‘आक्रमणकर्ताहरूले ककपिटमा कब्जा गरेका छन् । बाँकी सबै यात्रुहरूलाई विमानको पछाडिको भागमा लगिएको छ ।’
स्याण्डी त्यसको छ मिनेटसम्म फोन लाइनमा रहिन् । प्रबन्धकका अनुसार उनको आवाज आश्चर्यजनक रूपमा निकै संयमित थियो ।
टम म्याकमिलनले लेख्छन्, ‘यस बीचमा, मार्क बिंगमले आफ्नो आमालाई फोन गरे-‘म मार्क बिंगम बोलिरहेको छु।’
सम्भवतः उनी त्यति दबाबमा थिए कि उनले आफ्नो पूरा नाम भने । उनले भने, ‘म तपाईंलाई भन्न चाहन्छु कि म तपाईंलाई धेरै माया गर्छु । म यस समय सन फ्रान्सिस्को जाँदै गरेको विमानमा छु । तीन जनाले विमानमा कब्जा गरेका छन् । उनीहरूको आफूहरुसँग बम रहेको बताएका छन् ।’
उनकी आमा एलिसले ती मानिसहरू को हुन् ? भनेर सोधिन् । बिंगमले त्यो प्रश्नको जवाफ दिएनन्, अनि भने, ‘तपाईंले ममाथि विश्वास गर्नुपर्छ । मैले भनेका सबै कुरा नितान्त सही छन्।’
जब विमानहरूलाई तुरुन्तै अवतरण गर्न भनियो
त्यसैबीच, क्लीभल्याण्ड एयर ट्राफिकले जियाद जर्राहको आदेश सुनेपछि तुरुन्तै प्रतिक्रिया जनायो, ‘ठीक छ, यो युनाइटेड ९३ हो । बुझ्नुभयो कि तपाईंहरूसँग विमानमा बम छ । जानुहोस् । युनाइटेड ९३ जानुहोस् ।’
तर ककपिटबाट उनीहरूलाई कुनै जवाफ आएन ।
यस बीच, एयर कन्ट्रोलर जोन वर्थको लागि सबैभन्दा ठूलो चुनौती तब आइलाग्यो जब ९ बजेर ४२ मिनेटमा संघीय उड्ययन प्रशासनले अमेरिकी वायु क्षेत्रमा उडिरहेका सबै गैरसैनिक विमानहरूलाई नजिकका विमानस्थलमा अवतरण गर्न आदेश दियो।
त्यसपछि अरु सबै विमानहरू तुरुन्तै अवतरण गर्न लागे । तर, ओहायोको आकाशमा उडिरहेको फ्लाइट ९३ मा यसको कुनै प्रभाव भएन । सो विमान वाशिङ्टन डीसीतर्फ उडिरह्यो ।
अमेरिकनहरूले अब अनुमान गर्न थालेका थिए कि फ्लाइट ९३ कि त ह्वाइट हाउसतर्फ बढिरहेको छ कि त क्यापिटल हिलतर्फ ।
मिचेल जुकौफ लेख्छन्, ‘क्यापिटल हिलमा एक प्रहरी अधिकारी हलमा चिच्याउँदै दौडिए, ‘एउटा जहाज आउँदैछ । बाहिर जानुस् ।’
यो सुनेर त्यहाँ रहेका मानिसहरू खाली खुट्टामा बाहिर दौडिए । खतराको साइरन बज्न थाल्यो। कंग्रेसका केही सदस्यहरू रुखमुनि जम्मा हुन थाले । हतियारले सुसज्जित प्रहरी अधिकारीहरूले अमेरिकी सिनेटका नेताहरूलाई शीत युद्धकालीन बंकरमा पुर्याए ।
प्रतिरोधको योजना
यसबीच, विमान ४० हजार फिटको उचाइबाट तल झरिरहेको थियो र २० हजार फिटको उचाइमा आइपुगेको थियो।
यसबाट प्रष्ट हुन्थ्यो कि अपहरणकर्ता जियाद जर्राहलाई विमान उडाउनमा कठिनाइ भइरहेको थियो । जर्राह सेप्टेम्बर ११ को जहाज अपहरण काण्डका अपहरणकारी मध्ये एक मात्र त्यस्ता व्यक्ति थिए जससँग पाइलटको कमर्शियल लाइसेन्स थिएन र उनले अन्य मानिसहरूको तुलनामा विमान उडाउने तालिममा कम समय बिताएका थिए ।
यस बीचमा यात्रुहरू बीच अपहरणर्सको प्रतिरोधको योजना बनिरहेको थियो ।
टम म्याकमिलनले लेख्छन्, ‘टम बर्नेटले आफ्नी पत्नी डिनालाई फोनमा बताए कि उनीहरू केही गर्ने योजना बनाइरहेका छन्।’
डिनाले सोधिन्, ‘कसैले तपाईंलाई मद्दत गरिरहेको छ ?’ टमले भने, ‘धेरै जना, हामीसँग एउटा समूह छ।’
अर्का यात्री टेरेमी ग्लिकले आफूहरूले आपसमा कुराकानी गरिरहेको र बम भएको भन्ने व्यक्तिमाथि जाई लाग्ने योजना बनाइरहेको जानकारी गराए ।
आक्रमणका लागि के प्रयोग गर्ने भन्ने योजना पनि उनीहरुले बुनिसकेका थिए । टेरेमीले भने ‘मसँग अझै नास्तासँग आएको बटर नाइफ छ।’
टोड बीमरले पनि लिजा जेफरसनलाई बताए, ‘हामी केही गर्दैछौं, हामीसँग अरु कुनै विकल्प छैन।’