टी-२० महिला विश्वकप छनोटमा भुटानमाथि नेपालको जित
![टी-२० महिला विश्वकप छनोटमा भुटानमाथि नेपालको जित](https://rastriyaonline.com/wp-content/uploads/2023/09/369633865_697402282416155_7468827663684796771_n-1693456327.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई ३ विकेटले पराजित गरेको छ।
लगातार तेस्रो जित निकालेको नेपालले मलेसियामा भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य भेट्टाउन १३.२ ओभर लगाउदा ७ विकेट गुमाएको थियो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन जोड्दा अरु ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। रुबिना बाहेक नेपालका लागि अरु ब्याटर दोहोरो अंकमा रन बनाउनबाट चुके।
बलिङमा भुटानकी अन्जुली घलेले ३ विकेट लिन सफल भइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिइन्। यस्तै छिरिङ जाङमोले २ विकेट हात पारिन्।
त्यसअघि नेपालले भुटानलाई २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमै समेटेको थियो। भुटानका लगि कप्तान डेचेन वाङ्मोले २१ रन जोडिन् भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिइन्। कविता कुवारले ४ ओभरमा १ मेडन राख्दा ७ रन दिइन भने १ विकेट लिइन्। यस्तै रुबिनाले ४ ओभरमा २ मेडन राखिन् भने ६ रन खर्चिएर १ रन दिइन्। खुसी डंगोलले १ विकेट हात पारिन्।
अब नेपालले समूहको चौथो खेलमा कतारसँग भोलि खेल्नेछ। आजको जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ।
यसअघि नेपालले बहराइनलाई १० विकेट र मलेसियालाई ५ विकेटले हराएको थियो।
मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।
समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
प्रतिक्रिया