आठ बर्ष पछि खुल्यो तातोपानी नाका (भिडियो रिर्पोट सहित)
आठ बर्ष अघि सम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजश्व संकलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करौडौँको सामानहरु आयात निर्यात हुने गर्दथे । २०७२ बैशाख १२ गतेको भुकम्प पछि यो नाका चीनले एकतर्फी रुपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्यो । जसको मार आम मानिस संगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा यो नाका लामो समयपछि मानिसहरुलाई आवतजावतको लागि खुल्ला गरिएको छ । ढिलै भएपनि यो नाका संचालनमा आएपछि स्थानीय र व्यापारीहरु तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएका छन् ।
भुकम्प अघि सम्म यो नाकामा मानिसहरुको चहलपहल, रौनकता छुट्टै थियो । तातोपानी घुम्न जाने पर्यटक, व्यापारी लगायतको भीडभाडले बास बस्ने ठाउँ पाउँन समेत मुश्किल हुन्थ्यो तर भुकम्पपछि नाका बन्द भएसंगै एकाएक सुनशान खण्डहर बनेको यस ठाउँका होटल पसल व्यवसायीहरु पलायन भए । कतीपय नाका खुल्ने आशामा बर्षौ सम्म कुरीरहे । आठ बर्ष पछि भदौ १५ गते शुक्रबारबाट हाल सीमा क्षेत्रका सर्वसाधरणलाई मात्र भएपनि चीन प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ । नाकाबाट ३० किलोमिटरभित्रका सर्वसाधारणले मात्र पहिलो चरणमा चीन प्रवेश गर्न पाउने छन् ।
यसअघि आयातनिर्यात पटक-पटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधरणका लागि भने आवतजावत खुलाइएको थिएन । बिभिन्न चरणको छलफल पछि सिमित कन्टेनरहरुबाट सामान आयात गर्नका लागि मात्र गत बैशाख बाट नाका खोलिएको थियो । पहिले जस्तो सहज नभएपनि धेरथोर सामान आयात गर्न व्यापारीहरु पनि अचेल नाकामा पुग्न थालेका छन् । भुकम्प र जुरेको पहिरोपछि उत्तरी नाकाको बाटोको अबस्था भने नाजुक रहेको उनीहरुको गुनासो छ ।
नाका खुलेकोमा खुसीयाली साट्न पुगेका सिन्धुपाल्चोक-१ का सासंद माधव सापकोटा ले तातोपानी सम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने संकेत गरेको र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सासंद सापकोटाले बताउनुभयो ।
क्षणिक लोक रिझाईको लागि नभई अब दिर्घकालिन रुपमै नाका संचालन हुनुपर्ने स्थानीयहरुले चाहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको संघार पारेर नाकामा स्थानीयको आउजाउ खुलाइनुलाई प्रचण्डलाई रिझाउने चीन सरकारको रणनीतिको रुपमा धेरैले टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदैछन् ।
प्रतिक्रिया