सुर्यमुखी साना किसान कृषि सहकारीको पशुधन सुरक्षण समितिको ९ औं वार्षिक साधारणसभा सम्पन्न
सुर्यमुखी साना किसान कृषि सहकारीको पशुधन सुरक्षण समितिको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रत्येक किसानको पारौं उज्यालो मुहार,पशु शुरक्षण नै हो यसको मुल आधार भन्ने नारा सहित सहकारीले किसानको पशुधन सुरक्षणको निति लिएको बताउनुभयो । १ करोड ६७ लाख २० हजार ७४८ रुपैँया कारोबार भएको रकम र हाल मौज्जात १ करोड २० लाख ४५ हजार ८३० रुपैयाँ रहेको समितिका अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । समतिको आगामी कार्यक्रममा एक घर न्यूनतम २ उत्पादक पशुपालन तथा प्रत्येक पशु शुरक्षण गर्ने कार्यकमलाई प्रभाबकारी र व्यवस्थित रुपमा सञ्चालन गर्ने, साना किसान विकास बैंक मार्फत प्राप्त हुने पशुपालन अन्तर्गतको सरलकर्जा लगानीमा अनिवार्य पशु सुरक्षण हुनुपर्ने व्यवस्था गर्ने, व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकलाई विभिन्न कार्यक्रमहरु मार्फत प्रोत्साहन गर्ने विषय समेटिएको छ । बार्षिक प्रगति प्रतिवेदनमा एक आर्थिक वर्षको अवधिमा एउटै कृषकले सबैभन्दा बढी पशु तथा सुरक्षण शुल्क बुझाई सुरक्षण गर्ने एक जना सुरक्षण कर्ता कृषकलाई सम्मान गरिने, यस संस्था मार्फत पशु विमा गर्ने विमाकर्ताहरुलाई उक्त पशुहरुको लागि प्रत्येक ६÷६ महिनामा बर्षको दुई पटक नाम्ले र जुकाको औषधी बैशाख १ देखि नै लागु हुने गरी संस्था मार्फत निशुल्क उपलब्ध गराईने उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले किसानलाई दिएको सेवाका बारेमा जानकारी गराउँदै पछिल्लो समयमा विभिन्न कारणले बिमा रोक्न परेको बताउनुभयो । किसानहरुले मुल्यांकन नगरि बिमा गर्ने र बिमा पाउनकै लागी लापरबाही गरेका कारण अहिले निकै समस्या आएको बताउनुभयो । बिमा गरेको पशु बिरामी हुँदा पशु प्राबिधिकलाई खबर नगर्ने, वास्ता नगर्ने अनि मृत्यु भइसकेपछि बिमा दावि गर्न आउने कारणले अहिले ठुलो समस्या देखा परेको चौलागाईंले बताउनुभयो । समाजमा सुर्यमुखी बिरुद्ध गिरोहनै सक्रिय रहेको भन्दै यस्ता खाले क्रियाकलापले किसान मर्कामा पर्ने उहाँले बताउनुभयो । अगामि दिनमा साना किसान सहकारीको प्रत्येक सदस्यको घरमा ईन्टरनेट जोड्ने, पशु बिमा,जीवन बिमा,ऋण बिमा गर्ने लगायतका आकर्षक कार्यक्रम ल्याउने सहकारीका अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँले यो सहकारी हाम्रै भएकाले हामी आफैंले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले दिनुपर्ने रकम नदिएका कारण विमा कार्यक्रम अझै प्रभावकारी नभएको उहाँले बताउनुभयो ।
हालसम्म १ करोड २५ लाख रुपैयाँ सहकारीले बिमा गरेका पशुधनी हरुलाई भुक्तानी गरेको भन्दै उहाँले आगामी दिनमा मापदण्ड अनुसार परेका पशुको मात्र विमा भुक्तानी गरिने उद्घोष गर्नुभयो । सहकारीका कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम प्रबन्धक गोविन्द नेपालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कलाँती भूमिडाँडा साना किसान कृषि सहकारीका प्रबन्धक रामचन्द्र न्यौपाने,कृषि प्राविधिक केदार हुँमगाईले आफ्नो सहकारीको असल अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो भने सहकारीका कानुनी सहजकर्ता शिव नेपालले आफ्नो भनाई राख्नुभएको थियो ।
प्रतिक्रिया