सरोकारवालाहरुसंग एक दिने अभिमुखीकरण कार्यशाला मेलम्चीमा सम्पन्न
![सरोकारवालाहरुसंग एक दिने अभिमुखीकरण कार्यशाला मेलम्चीमा सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/04/438031862_7788470387839255_3483412093159257301_n.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
अपाङ्गता भएको व्यक्तिहरुको अधिकार, समावेशीकरण र पहुँचको प्रवर्धन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यशाला मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका, टुकी संघ सुनकोशी र ह्याण्डिक्याप इन्टरनेसनलको सहयोगमा मेलम्ची नगरपालिकामा संचालन भईरहेको अपाङ्गता भएका व्यक्तिहरु एवं संकटासन्न व्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत अभिमुखिकरण कार्यक्रम गरिएको टुकी संघ सुनकोशीका परियोजना संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभयो । बैशाख ३ गते सञ्चालन भएको कार्यशालामा वडा अध्यक्ष, महिला सदस्य, अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाका प्रतिनीधिहरु, एकल महिला, जेष्ठ नागरिक, सहकारी संस्थाहरु, विध्यालय व्यवस्थापन समिति, गैर सरकारी संस्था र मेलम्ची नगरपालिकाको शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन र महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, उनिहरुको पहुँच वृद्धि र समावेशीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सहभागिहरुलाई सक्रिय भएर कार्यक्रममा सिकेका विषयवस्तुका आधारमा आगामी योजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, क्षमता विकास र जीविकोपार्जनमा सहयोग गर्न नगरपालिकाले गर्ने योजना तर्जुमा, नीति र कार्यक्रममा समावेश गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानले सरोकारवाला र जनप्रतिनीधिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने परम्पराबादी सोचमा परिवर्तन गर्नुपर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबै सरोकारवालाहरुको सहजीकरणमा महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
कार्यक्रम बारे ह्यान्डिक्याप इन्टरनेसनलका परियोजना प्रबन्धक महेन्द्रविक्रम शाहले कार्यशालाको आवश्यकता र महत्वबारे प्रष्ट पार्नुभयो । टुकी संघ सुनकोशीका अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो । अपाङ्गता भएको व्यक्तिहरुको अधिकार, समावेशीकरण र पहुँचको प्रवर्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघका बरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मीना पौडेलले गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, पत्रकार, गैर सरकारी संस्था, अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनीधि लगायतका सहभागीहरुको उपस्थिती रहेको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/1713245308436402189_451033144255801_8850-1024x683.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/436392578_451033377589111_4411185127297528108_n-1024x683.jpg)
![](https://rastriyaonline.com/wp-content/uploads/2024/04/438082769_451033454255770_6271377131130212099_n-1024x683.jpg)
प्रतिक्रिया