स्तरीकृत परीक्षाका निम्ति शिक्षकहरुको प्रश्न निर्माण कार्यशाला मेलम्चीमा सम्पन्न
![स्तरीकृत परीक्षाका निम्ति शिक्षकहरुको प्रश्न निर्माण कार्यशाला मेलम्चीमा सम्पन्न](https://rastriyaonline.com/wp-content/uploads/2024/06/FB_IMG_1717250473074.jpg)
![](https://rashtriyaonline.com/wp-content/uploads/2023/09/aa.png)
प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गत विद्यालयका माध्यमिक तहमा कार्यरत अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकहरुका लागि स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी एक दिने कार्यशाला शनिबार मेलम्चीमा सम्पन्न गरेको छ । जय मल्टिपल कलेज, काठमाडौंको व्यवस्थापकीय संयोजनमा सम्पन्न उक्त कार्यशालाको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गर्नुभएको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/FB_IMG_1717250476954-1024x683.jpg)
इन्द्रेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न कार्यशालामा ९० जना भन्दा बढी शिक्षकहरुको सहभागिता रहनुका साथै विषयविज्ञहरु रमेशप्रसाद अवस्थीले गणित, हरिप्रसाद रेग्मीले विज्ञान र आनन्दप्रसाद ढुङ्गानाले अंग्रेजी विषयको सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्ले शिक्षाको गुणस्तर विकास गर्न शिक्षकहरु समय अनुसार आफ्नो सीप र क्षमता विकासमा निरन्तर अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विभिन्न प्रयास गरिरहेको र आगामी दिनमा अझैं यसमा सक्रियता बढाउनुपर्ने अवस्था रहेको बताउँदै विद्यालय तहको नतिजा सुधारमा विशेष योजना सहित विषयगत शिक्षकहरु लाग्न आग्रह सहित यसका लागि नगरपालिकाले आफ्नो स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यसैगरी जया मल्टिपल कलेजका संस्थापक देवीप्रसाद घिमिरेले शैक्षिक सुधारका लागि सबै पक्ष निरन्तर सहकार्य गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा पनि विभिन्न हिसाबले सहकार्य गर्दै जान आफुहरु तयार रहको बताउनुभयो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/FB_IMG_1717250485542-1024x683.jpg)
कार्यक्रमा मेलम्ची नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, शिक्षा यूवा तथा खेलकुद शाखा मेलम्चीका प्रमुख सुधिनराज बुढाथोकी, जया मल्टिपल कलेजका प्रिन्सिपल भभानीप्रसाद पौडेल, शिक्षक महासंघ मेलम्चीका अध्यक्ष शिवप्रसाद ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
![](https://rastriyaonline.com/wp-content/uploads/2024/06/FB_IMG_1717250483313-1024x683.jpg)
सहभागीहरुले कार्यक्रम एकदिने भए पनि निकै उपलब्धीपूर्ण रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता समय सान्दर्भिक कार्यक्रम मार्फत आफुहरुको पेशागत विकासमा सहयोगको अपेक्षा व्यक्त गरेका छन् । परिवर्तित पाठ्यक्रम अनुसार विद्यार्थी मूल्याङ्कनलाई वस्तुनिष्ठ र विश्वसनीय बनाउन विभिन्न तहका प्रश्न निर्माण सम्बन्धी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको प्रविधिमैत्री शिक्षक समाज नेपाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया