बाढी पीडितको मागलाई सम्बोधन गर्न सांसद तामाङ द्वारा बागमती प्रदेश सरकारको ध्यानाकर्षण
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ्ग (समिर)ले बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा हेलम्बु -मेलम्ची बाढी पीडितलाई सम्बोधन नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बागमती प्रदेश सभाको बैठकमा विपद ब्यबस्थापन र सम्भावित जोखिम न्यूनीकरण सम्बन्धी ध्यानाकर्षण प्रस्ताव पेश गर्दै सांसद तामाङले मेलम्ची हेलम्बु बाढीबाट प्रभावितहरुले अहिलेसम्म पनि सरकारको महसुश गर्न नपाएको बताउनुभयो ।
हेलम्बु मेलम्ची बाढी बाट प्रभावित हरुको पिडा प्रदेश सरकारले बुझ्न नसकेको भन्दै कानमा तेल हालेर नबस्न आग्रह गर्नुभयो । बाढी बाट प्रभावित क्षेत्रमा खेतीयोग्य जमिन,घर,विद्यालय,सार्बजनिक संरचना लगायत मानव बस्तीमा क्षति पुगेको ३ बर्ष बितिसक्दा समेत अहिले सम्म त्यहाँको समस्या सम्बोधन नहुनुले त्यहाँका जनताले प्रदेश सरकार माथी प्रश्न उठाइरहेको बताउनुभयो ।
सांसद तामाङले पहिलो प्रदेश सभाको प्रदेश मामिला समितिले उपसमिति गठन गरेर बाढी ग्रस्त क्षेत्रको निरीक्षण,अबलोकन गरि त्यसबाट आएको प्रतिबेदन सरकारको कुन दुलोमा छ भन्दै प्रश्न गर्नुभयो । उहाँले सदनमा विशेष समय र शुन्य समयमा पटक पटक ध्यानाकर्षण गराउदा समेत सरकारले बेवास्ता गरेको भन्दै बाढी ग्रस्त क्षेत्रका नागरिकहरु ब्यबशाय गर्न बैंक बाट लिएको ऋण तिर्न नसकेर आत्महत्या गर्ने स्थितिमा पुगेको बताउनुभयो ।
उहाँले जनताको माग सम्बोधन नगर्ने भए प्रदेश सरकार बन्नु औचित्य नभएको समेत जिकिर गर्नुभयो । संघर्ष समिति गठन गरेर प्रभावित हरुले १७ बुदे माग राख्दै आन्दोलन गरेको अवगत गराउदै सांसद तामाङले बाढी बाट जोगिएका खेतीयोग्य जमिन,संरचना,विद्यालय र बस्ती जोगाउनका लागी अब प्रदेश सरकारको भुमिका के हुने भन्दै प्रश्न गर्नुभयो । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ (ख) का सांसद तामाङले सरकारको गौरवको र महत्त्वपूर्ण आयोजना मेलम्ची खानेपानी आयोजना समेत संचालन भइरहेको सन्दर्भमा प्रदेश र संघ सरकारले त्यहाँको मागलाई सम्बोधन नगरी अगाडि बढ्ने हो भने खानेपानी आयोजना समेत प्रभावित हुनसक्ने संकेत गर्नुभयो ।
उहाँले बर्खायामको सुरुवात भइसकेको भन्दै सडक संजाल,विद्यालय,बस्ती समेत अति जोखिममा रहेकाले हेलम्बु मेलम्ची क्षेत्रको समस्या समाधानका लागी प्रदेश सरकारले पुर्वतयारीको लागी के गर्न सक्छ भन्दै सभामुख मार्फत जवाफ माग गर्नुभयो ।
पानी पर्ने बित्तिकै नदितटिय क्षेत्रका नागरिकहरु टर्च बालेर खोला हेरेर बस्नुपर्ने बाध्यता रहेको भन्दै नागरिकको जीउधनको रक्षागर्ने सरकारको दायित्व नबिर्सन समेत सांसद तामाङले ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया