कर्मचारीलाई तनाव ब्यबस्थापन तथा स्व स्याहार सम्बन्धी २ दिने कार्यशाला पाँचपोखरीमा सम्पन्न
पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारीका लागी तनाव ब्यबस्थापन तथा स्व स्याहार सम्बन्धी २ दिने कार्यशाला गाउँपालिका सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र कोलीअसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट ( सिट्रेड)को प्राबिधिक सहयोगमा कार्यशाला संचालन गरिएको सिट्रेडका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो ।
कार्यशालालाई समापन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले तालिममा सिकेका कुरा व्यबहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले यो कार्यशाला कर्मचारीलाई मात्र नभएर नेतृत्व गर्ने हरेक ब्यक्तिलाई आवश्यक रहेको महशुस भएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले यो कार्यक्रममा सहभागी भएपस्चात कर्मचारीहरुको बोलि,व्यबहार तथा सेवा प्रबाहमा परिबर्तन आउँछ भन्ने अपेक्षा लिइएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले तनावका बाबजुद पनि सेवाग्राहीलाई सेवा दिने चरणमा आफैंलाई सन्तुष्ट हुने गरि काम गर्नुपर्ने बताउनुभयो । विशेष कारणले मानिसलाई जहिल्यै तनाव हुने भएकाले तनाव मुक्त गर्नका लागी मुस्कान सहितको सेवालाई जोड दिनुपर्ने बताउनुभयो । कर्मचारी हरुको लागी यो अवसर दिएकोमा उहाँले प्राबिधिक सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो ।
कार्यशालामा सहभागी वडा नम्बर ४ का पशु प्राबिधिक गुणराज धितालले कार्यशाला फलदायी भएको बताउनुभयो । उहाँले सेवाग्राहीलाई सेवा दिनेबेलामा गर्नुपर्ने व्यबहार कस्तो हुनुपर्ने,तनाव कम गर्नका लागी अपनाउन पर्ने साबधानी लगायतका विषयमा धेरै कुरा सिकेको बताउनुभयो ।
त्यस्तै सहभागी वडा नम्बर ८ का सचिव सुशीला कार्कीले कार्यालयमा रहदाँ सानोतिनो कारण पनि ठुलो तनाव हुने गरेको र त्यहीँ तनाव ब्यबस्थापन गर्न नसकेर झन तनाव हुनेगरेको स्मरण गर्दै २ दिने कार्यशाला फलदायी भएको बताउनुभयो । तालिमको वरिष्ठ मनोविद तथा सिट्रेडका कार्यक्रम निर्देशक किशोरकुमार थापाले सहजीकरण गर्नुभएको थियो । तालिममा संस्थाका विजय पौडेल, यशोदा शर्मा,तारा पन्त लगायतले आवश्यक समन्वय र सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया